Headlines News :
Home » » भक्तपुरका इँटा मापदण्ड विपरीत

भक्तपुरका इँटा मापदण्ड विपरीत


१८ वैशाख, भक्तपुर । भक्तपुरमा सञ्चालित अधिकांश इँटाभट्टा मापदण्डविपरीत ‘खुलेआम’ सञ्चालनमा रहेको पाइएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको नेतृत्वको टोलीले सोमबार भक्तपुरमा सञ्चालित इँटाभट्टामा अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

जनस्तरबाट समेत भट्टाको विरोधमा गुनासा आएपछि वातावरण विभागले ‘प्रदूषणको अवस्था के–कस्तो छ ?’ भनेर अनुगमन गरेको थियो । सञ्चालकले उद्योग सञ्चालन गर्नुअघि बस्ती र जंगलको एक किलोमिटरभित्र सञ्चालन गर्न नुहने, कृषियोग्य जमिनका भट्टा सञ्चालन गर्न नपाइने, बालश्रमिक राख्न नपाइने, धूलोरहित सडक हुनुपर्ने, भट्टा वरिपरि हरियाली हुनुपर्ने, सम्पदा संरक्षण हुनुपर्नेजस्ता सम्झौता गरे पनि उनीहरूले ‘न्यूनतम सर्तसमेत पालना नगरेको पाइएको’ विभागका निर्देशक डा. युवकध्वज जीसीले बताए ।

उनका अनुसार सञ्चालकले प्रत्येक वर्ष समय–समयमा भट्टाले फाल्ने धूवाँबाट हुने प्रदूषण मापन गर्नुपर्ने भए पनि अधिकांशले प्रदूषण मापन नगरेको र न्यूनतम पूर्वाधारसमेत तयार नगरेको पाइएको छ । अनुगमन टोलीले प्रदूषण मापनका लागि भट्टा व्यवसायी संघलाई अग्रिम जानकारी गराएर प्राविधिक टोलीसहित स्थलमा पुगे पनि न्यूनतम पूर्वाधार तयार नगरेपछि टोली परीक्षणविनै फिर्ता हुनुपरेको जिसीले जनाए । विभागका प्राविधिक देवीप्रसाद भण्डारीले भट्टाले वातावरण प्रदूषणरहित बनाउन कुनै पनि पहल नगरेको पाइएको जनाए । जिल्ला कृषि विकास कार्यालय प्रमुख वेदप्रसाद चौलागाईंले भक्तपुरमा कुल ६ हेक्टर खेतीयोग्य जमिनमा इँट्टा भट्टा सञ्चालन भइरहेको जानकारी दिए । ‘भट्टाले खेतीयोग्य जमिन नष्ट हुँदै गएको छ,’ उनले भने, ‘प्रदूषणका कारण उत्पादन घट्दै गएकाले भट्टा स्थानान्तरण गरिनुपर्छ ।’ उता, भक्तपुर इँटा व्यवसायी संघ अध्यक्ष विश्वराम क्वाले भट्टाबाट पदूषण घट्दै आएको दाबी गरे । ‘हामीले प्रदूषण नाप्ने प्लेटफर्म, भर्याङलगायतका पूर्वाधार नभएकाले तयार गर्ने वचन दिएका छौं,’ उनले भने ।

टोलीले अनुगमन आधार बनाएर प्रतिवेदन तयार गरी वातावरण मन्त्रालय र उद्योग मन्त्रालयमा पेस गर्ने जनाएको राजधानी दैनिकमा खबर छ । मापदण्ड पूरा नगरेका भट्टालाई ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्ने बताइएको छ । जिल्लामा ७४ ओटाभन्दा बढी भट्टा सञ्चालनमा छन् । टोलीले जिल्लाको चित्तपोल र झौखेलका भट्टामा अनुगमन गरेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन शाखा अधिकृत मैया कँडेल, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धर्मानन्द जोशी, जिल्ला विकास समितिका प्रतिनिधि, प्रहरीलगायत सहभागी थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com