थ्री एम अर्थात् मिनिस्कर्ट, मोबाइल र मोटरबाइक किशोर-किशोरीहरूको पहिलो रोजाइ हो । छोटो स्कर्ट, ब्रान्डेड मोबाइल र बढी सिसी भएको बाइक त्यसमा पनि केही उठेको सीट कतिपय किशोर-किशोरीहरूको सपना बनेको छ ।
आकर्षक तथा सुहाउँदो रंगको पहिरन, ब्रान्डेड मोबाइल तथा स्कुल-कलेज जाँदा आफ्नै मोटरबाइकमा जानुको मज्जा सायद प्लस टु तथा बी.ए. अध्ययनरत किशोर-किशोरीलाई भन्दा अरूलाई कमै थाहा होला । विद्यालय तह उत्तीर्ण गरेपछि कलेज रोज्दा सबैभन्दा पहिले त्यहाँ कस्तो पहिरन छ, मोबाइल बोक्न पाइन्छ कि पाइँदैन तथा बाइक कुँदाउन पाइने नपाइने आदि प्रश्न राखेर मात्र भर्ना हुनेको संख्या बढ्दैछ । विद्यार्थीको पढाइमा भन्दा कसको कस्तो मोबाइल तथा बाइक भन्ने होड चलेको पाइन्छ । त्यसैले विद्यालय तथा कलेज पढ्न भन्दा पनि फेसन शो गर्न जानेहरूको भीड बढेको कुरालाई ध्यानमा राखेर थि्र एम प्रतिबन्ध गर्नेतर्फ सबैको जोड छ । नियमविपरीत मोटर साइकल कुँदाउने, महँगा मोबाइल बोक्ने र कोसँग कस्तो ग्याजेट छ भन्ने कुरामा प्रतिस्पर्धा बढेको छ । थ्री एमथ्री एम प्रतिबन्धका सम्बन्धमा किशोर-किशोरीको मनसाय बुझ्न नारीले थ्री एममा प्रतिबन्ध कत्तिको उचित छ भन्ने विषयमा छलफलको आयोजना गरेको थियो ।
छलफलमा सहभागी कक्षा ९ मा अध्ययनरत एम्स इन्टरनेसनल एकेडेमीकी ज्ञानु कार्कीका अनुसार विद्यालय तथा कलेजमा मोटरसाइकल तथा स्कर्टमा प्रतिबन्ध गर्नु राम्रो हो । यद्यपि मोबाइलको प्रतिबन्धप्रति भने उनलाई चित्त बुझेको छैन । मोबाइलको सहायताले धेरै कुराको जानकारी लिन सकिने उनी बताउँछिन् । कार्की भन्छिन्-मोबाइलले हामीलाई आफ्ना अभिभावकसँग सम्पर्क बनाउन सजिलो हुन्छ । आफू कतै साथीहरूसँग हिँडेका बेला तथा घर पुग्न ढिला भए घरपरिवारलाई आफू यस्तो ठाउँमा छु तथा कति समयमा घर आइपुग्छु भन्ने जानकारी दिन सजिलो हुन्छ ।'
त्यसैगरी युनाइटेड एकेडेमीकी १६ वर्षीया प्रकृति श्रेष्ठ मोबाइल, मोटरबाइक तथा मिनिस्कर्टमध्ये मोबाइल भने फुकुवा गर्नुपर्नेमा जोड दिन्छिन् । मोबाइल बोक्दैमा पढाइमा क्षति पुग्छ भन्ने कुरामा उनी सहमत छैनन् । श्रेष्ठ भन्छिन्-वर्तमान समयमा पनि मोबाइल तथा मोटरबाइक प्रतिबन्ध गरेर हामी के गर्न खोज्दैछौं अचम्म लागेको छ । देशमा सुरक्षा छैन । घरको मानिस कतै बाहिर निस्किएपछि घर नआउँदासम्म टेन्सन हुन्छ । यस्तो स्थितिमा मोबाइल प्रतिबन्ध गर्नु हुँदैन । स्कुल तथा कलेजले महँगो शुल्क लिन्छन् भने सार्वजनिक सवारीले विद्यार्थीसँग कार्ड हुन्छ, उनीहरूलाई छुट दिनुपर्छ भनेर सवारी साधन रोक्दैनन् । यसले गर्दा विद्यार्थी समयमा विद्यालय वा कलेज पुग्न सक्दैनन् । यसको घाटा पनि विद्यार्थीलाई नै हुन्छ । विद्यालय अथवा कलेज ढिलो पुगे कक्षामा पस्न पाइँदैन । यस्तो अवस्थामा हामीले के गर्ने ?'

१६ वर्षीया सिमि्रक रिजाल पनि स्कर्ट प्रतिबन्ध गरे पनि मोबाइल र मोटरबाइक भने फुकुवा गर्नुपर्नेमा जोड दिन्छिन् । स्कर्टभन्दा पनि पाइन्टमा हिँड्न रुचाउने रिजाल स्कर्ट लगाउँदा बढी त्यसमै केन्दि्रत हुने बताउँछिन् । यसले विद्यार्थीलाई फेसनप्रति बढी फोकस गराउँछ तर मोटरबाइक तथा मोबाइल प्रतिबन्ध गर्नु उचित नभएको उनको ठहर छ । आफ्नै कलेज तथा स्कुलको सवारी साधन नभएका विद्यार्थीले समयमा सवारी साधन नपाउने तथा विद्यार्थीलाई सवारी चलाउनेले कार्डको छुट दिनुपर्छ भनेर दुःख दिने प्रवृत्तिको अन्त्य नगर्दासम्म मोटरबाइकमा प्रतिबन्ध लगाउन नहुने उनको धारणा छ । त्यसो त मोटरबाइक प्रतिबन्ध गर्दैमा लान चाहने विद्यार्थीले जसरी पनि लान सक्ने उनी बताउँछिन् । रिजालका अनुसार सरकारको काम देश चलाउने तथा देशमा कसरी पूर्वाधार विकास गर्ने भन्नेमा केन्दि्रत हुनुपर्छ न कि कलेजका स-साना कुरामा । मोटरबाइक, मोबाइल तथा मिनिस्कर्टको सन्दर्भमा कलेजले आफ्नै नियम बनाउनु उचित हुने उनको धारणा छ ।
कार्यक्रममा सहभागी एस इन्स्टिच्युट अफ म्यानेजमेन्टकी स्वप्निल शाहका अनुसार मिनिस्कर्ट प्रतिबन्ध गर्नु उचित हो । दिनप्रतिदिन मिनिस्कर्टको साइज घट्दै गएको छ । तसर्थ यसलाई प्रतिबन्ध गर्नु नै सान्दर्भिक हुने उनको ठहर छ तर मोबाइल र मोटरबाइक प्रतिबन्धप्रति भने उनको गुनासो छ । टाढा घर भएका विद्यार्थीलाई मोबाइल र मोटरबाइकबिना समयमा घर र कलेज जान-आउन समस्या पर्ने उनी बताउँछिन् । मोबाइल, मोटरबाइक र मिनिस्कर्टले गर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा पनि बढी ती कुराप्रति गएको कुरा नकार्दै उनी भन्छिन्-यसका लागि स्कुल तथा कलेजको वातावरण राम्रो हुनुपर्छ । स्वप्निलका अनुसार यदि टिचरले राम्रोसँग पढाएको खण्डमा विद्यार्थी पढाइमा केन्दि्रत हुन्छन् । मोटरसाइकल दुर्घटनाका लागि नियम कडा बनाउन सक्नुपर्छ । किनभने मोटरबाइक प्रतिबन्ध गर्दैमा चलाउँदैनन् भन्ने छैन ।
उपस्थित सबै सहभागीले कलेज तथा सरकार यस्ता स-साना कुरामा अल्मलिनु भन्दा गुणस्तरीय शिक्षा प्रणाली निमार्ण गर्नेतर्फ लाग्नु उचित हुने बताए । यसका साथै अन्तर्राष्ट्रिय स्तरको शिक्षा नीति बनाएर सम्बधित निकायले ध्यान पुर्याउनुपर्नेमा सबैले जोड दिए । श्रोत: नारी


0 comments:
Speak up your mind
Tell us what you're thinking... !