Headlines News :
Home » » गिनिजमा सात रेकर्ड बनाउन सफल नेपाली ठिटो

गिनिजमा सात रेकर्ड बनाउन सफल नेपाली ठिटो

संखुवासभाबाट राजधानी आएका थानेश्वर गुरागाईंलाई कुनै बेला आफूले गरेका चकचक नै गिनिज बुक अफ वल्र्ड रेकडर्समा दर्ता होला भन्ने लागेकै थिएन। पहिलोपल्ट एक जना दाइले भने, "तिमी धेरै बोल्छौ, गिनिज बुकमा नाम लेखाउँछौ कि क्या हो ?" उनको खुलदुली अरू बढ्यो। गिनिज बुकको वेबसाइट अध्ययन गरे। ७ अक्टोबर २०१० मा पहिलोपल्ट आफ्नै खर्चमा गिनिज बुकका जुरीहरूलाई बोलाएर बास्केट बल बाउन्सिङ्मा पुरानो कीर्तिमान तोडे।

उनले एक मिनेटमा बास्केटबललाई ४ सय ४४ पटक बाउन्स गरेका थिए। त्यसपछि २५ फेब्रुअरी २०११ मा 'लंगेस्ट टाइम स्पिनिङ् गिनिज बुक अन द फिंगर' अर्थात् गिनिज बुकको पुस्तकलाई नै औँलामा घुमाउने प्रतिस्पर्धामा सहभागी भए। गुरागाईंले अघिल्लो ६ मिनेटको कीर्तिमान तोड्दै डेढ किलोको किताबलाई औँलामा ३० मिनेट फनफनी घुमाए।


"कसैले पनि यति लामो समय घुमाउँछ भन्ने सोचेका थिएनन्, त्यसैले क्यामेरामा दृश्य खिच्नेहरू पनि काँधमै क्यामेरा अड्याएर खिचिरहेका थिए," उनी भन्छन्, "मैले लगातार ३० मिनेटसम्म घुमाउँदा उनीहरू आश्चर्यचकित त भए नै, सास्ती बेहोर्न पनि बाध्य भए।" उनले कम्मरवरिपरि बास्केटबल घुमाउनेमा पनि नयाँ कीतिमान राखे।

यी तीनै कीर्तिमान उनले आफ्नै पहलमा राखेका थिए। त्यसमा उनको झन्डै डेढ लाख रुपियाँ खर्च भएको थियो। यसबीच उनले अन्य विश्व कीर्तिमानी र गिनिज बुकसम्बद्ध मानिसहरूसँग पनि राम्रो सम्पर्क बनाइसकेका थिए। चन्द्रबहादुर डाँगीलाई विश्वको सबैभन्दा होचा मानिस प्रमाणित गर्न गिनिज बुकका मानिस नेपाल निम्त्याउन उनको पनि सहयोग थियो। यसपटकको जुरीमा गिनिज बुकका प्रधान सम्पादक ग्रेक क्लेन डे पनि आएका थिए।

र्‍याडिसन होटलमा डाँगीको उचाइको परीक्षण भयो र उनलाई विश्वकै सबैभन्दा होचो भएको प्रमाणपत्र दिइयो। त्यही बेला गुरागाईंले प्रधान सम्पादक डेसँग आफ्नो कीर्तिमानको परीक्षणका लागि अनुरोध गरे। डेले पनि हुन्छ भने र एकै दिन एकै थलोमा १० मिनेटभित्र थप तीनवटा कीर्तिमान राखे।

त्यो कीर्तिमान थियो, लङ् टेनिस ब्याटको जाली झिकिएको घेराबाट आफ्नो शरीरलाई लगातार तीनपटक छिराउने प्रतिस्पर्धा। अघिल्लो कीर्तिमान १२ सेकेन्डको थियो भने उनले ४ दशमलव ९ सेकेन्डमै यो प्रतिस्पर्धा पूरा गरे। "यो देखेर प्रधान सम्पादक क्लेन डे पनि छक्क परेका थिए" उनी सम्झन्छन्, "मैले अर्को कीर्तिमान पनि यहीँ तोड्न चाहन्छु भन्दा झनै छक्क परे।"

दोस्रोपटकमा उनले ब्याटभित्र एक मिनेटमा ३८ चोटि छिरेर पुराना विश्व रेकर्ड भंग गरिदिए। तेस्रो प्रतिस्पर्धाचाहिँ तीन मिनेटमा कतिपटक छिर्ने भन्ने थियो। उनले यस प्रतिस्पर्धामा ९६ चोटि छिरेर नयाँ कीर्तिमान कायम गरे। एकै थलोमा यसरी तीन-तीनवटा विश्व कीर्तिमान तोडेको देखेर त्यस दिन जुरीका अन्य सदस्य मात्र होइन, त्यहाँ भेला भएका नेपाली दर्शकसमेत छक्क परे। प्रधान सम्पादक डेले गुरागाईंलाई त्यहीँ प्रमाणपत्र पनि दिए।

पछिल्लोपटक उनले बास्केटबललाई टुथ ब्रसमा घुमाउने प्रतिस्पर्धामा भाग लिए। यो प्रतिस्पर्धा अझ चुनौतीपूर्ण थियो। किनभने, हातको चोर औँलामा बास्केटबल घुमाउँदै दाँतले च्यापेको टुथ ब्रसमा सारेर घुमाउनुपर्ने थियो। यसको अघिल्लो रेकर्ड थियो, १३ सेकेन्डको। उनले यो रेकर्डलाई धेरै पछि छाड्दै २२ दशमलव ४ सेकेन्डको रेकर्ड कायम गरे। यसको प्रमाणपत्र आउन बाँकी छ। तर, ६ वटै परिणामले उनी पहिलो विश्व कीर्तिमानी नेपाली प्रमाणित भइसकेका छन्। यसबाहेक उनी थप ६/७ वटा प्रतिस्पर्धाका लागि अन्तिम तयारीमा छन्।

यति धेरै विश्व कीर्तिमान राखेर नामसँगै दाम कमाइ भयो कि भएन ? "गिनिज बुकले प्रमाणपत्रबाहेक कुनै आर्थिक सहयोग गर्दैन," उनी भन्छन्, "एउटै कीर्तिमानीलाई पनि उनीहरूको देशले जीवन जिउनका लागि प्रशस्त सहयोग र अवसर जुटाइदिन्छ। त्यसपछि उनीहरूलाई आर्थिक रूपमा कुनै समस्या पर्दैन।" तर, सात-सातवटा विश्व कीर्तिमान कायम गरे पनि उनी बाबुको गोजीबाटै आफ्नो पढाइ र फुर्माइसी खर्च गर्न बाध्य छन्। एउटा प्रतिस्पर्धाका लागि जुरीहरू जुटाउन कम्तीमा ५० हजार खर्च लाग्छ। तर, सरकार या अन्य निकाय, कतैबाट कुनै सहयोग नपाउँदा उनी अरू प्रतिस्पर्धामा भाग लिने कि नलिने भन्ने द्विविधामा छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com