Headlines News :
Home » » सुहागरातलाई कसरी सुखद बनाउने

सुहागरातलाई कसरी सुखद बनाउने


माघ महिना विवाहको महिना हो । विवाहसँगै गाँसिएर आउने शब्द हो— सुहागरात । माघ, विवाह र सुहागरातबीच घनिष्ठ सम्बन्ध हुन्छ  जसले वैवाहिक जीवनलाई अटल र अमृतमय तुल्याउँछ। विवाहको पहिलो रात नै सुहागरात हो । यो क्षण जीवनमा एक पटक मात्र आउने हुँदा  यसलाई उपयोग गर्न सक्नुपर्छ । यदि सुहागरात नै कष्ठप्रद र दुःखदायी भएको खण्डमा त्यो रात मात्र होइन, जीवनभर नै अमिलोपनको  आभास हुने यौन विशेषज्ञहरू बताउँछन्। नौलो जीवनको सुरुवातको क्षणलाई सदुपयोग गर्न जान्नुपर्छ अन्यथा जीवनभर मनको कुनै कुनामा  त्यो घाउ बल्झीरहन सक्छ। 

सुहागरातलाई व्यक्तिपिच्छे विभिन्न कोणबाट हेरिन्छ । जीवनको अविस्मरणीय रात, वैवाहिक जीवनको सुनौलो रात, भावी जीवनका मीठामीठा  सपना बुनेर एक-अर्काको अँगालोमा आफूलाई सुम्पिने रात, अनि यौवनका तिर्सनाहरू मेट्ने रात।


आखिर यसलाई जसरी बुझे पनि नवविवाहित दम्पतीले वैवाहिक जीवनलाई रंगीन बनाउने रात हो- सुहागरात ।  एक-अर्कालाई चिन्ने,  चिनाउने र मिठासपूर्ण प्रेम अभिव्यक्त गरी सुमधुर सम्बन्धको आभास गर्ने रात हो— सुहागरात ।  सुहागरातमा जति खुसी, मिठास र  सुखानुभूति हुन सक्यो वैवाहिक जीवनको हरेक दिनरात त्यस्तै हुने यौनविज्ञहरू बताउँछन् । त्यसैले यो रात एक-अर्का बीच पूर्ण विश्वासको  वातावरण सिर्जना गरेर मात्र यौनसम्बन्धतर्फ लाग्नुपर्छ ।

पहिलो रातको सम्झना दुवैका लागि जीवनभर अविस्मरणीय हुने हुँदा सकभर रमाइलो एवं नौलो संसारको परिकल्पना हुने खालको वातावरण  सिर्जना गर्न सक्नुपर्छ। यस्तो कुरामा विशेषतः पुरुषको भूमिका महत्त्वपूर्ण हुन्छ। नारीभित्र विद्यमान लाज र डरका कारण पुरुषहरू यस  मामिलामा विशेष सजक हुनुपर्छ, जसले गर्दा आफ्नो जीवनसाथीको मनमा दाग नलागोस् । 

सुहागरातमा भएको सानो त्रुटिले जीवनभरका लागि नैराश्यता दिन सक्छ। विवाहपूर्व साँचेका विविध इच्छा, चाहना र सपनाहरू एक-अर्कार्मा  साटासाट गरी प्रेमपूर्ण वातावरणमा रमाउँदै अघाउन सक्नुपर्छ यो रात। बिहानैदेखि बजेको विवाहको बाजा र साथीभाइको जिस्क्याइसँगै  उब्जिएका खुल्दुली र तलतल मेटाउन आउने क्षण हो- सुहागरात। भावी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सुहागरात कतिपयका लागि भने  अभिशाप बनेर आइदिन्छ। इच्छाविपरीतको विवाह, एक-अर्कालाई बुझ्ने क्षमता नहुनु, लाज, डर तथा अन्धविश्वासी समाजमा फैलिएका  नकारात्मक टिप्पणी आदि कारणले गर्दा सुहागरातको क्षण दुःखदायक हुनसक्छ।

जन्म घर छोडेर पराई घर जानुपर्ने चेलीको मनमा वेदना हुनु स्वाभाविक हो। त्यसैले सुहागरातलाई साथ दिन खोज्दाखोज्दै पनि कमजोरीहरू  भैदिन्छन्। त्यसैले कोमल मनकी धनी जीवनसंगीसँग मिठासपूर्ण कुराकानी र साथसहयोगको वाचा गर्दै उनीभित्र उब्जिएको विरहको भावनालाई  बिर्साउन सक्ने कला हुनुपर्छ पुरुषमा। जबसम्म दुवै जना स्वतन्त्र वातावरणमा आइँदैन, तबसम्म सुहागरात फलदायी हुन सक्दैन।  इच्छाविपरीतको कुनै पनि कार्य नतिजामुखी बन्न सक्दैन भन्ने नियम यसमा पूर्ण रूपमा लागू हुन्छ। यो दिन कोही पुरुषार्थ प्रदर्शन गरेर  जीवनसंगीको भावनामाथि खेलबाड गर्छन्। योभन्दा मुर्खता अरु हुनै सक्दैन। यस्तो व्यवहार प्रदर्शन गर्दा वेदनामा डुबेको जीवनसँगीको मनमा  छुरा प्रहार गरेझैं हुन्छ। 

प्रेमविवाह होस् वा मागी विवाह दुवैमा सुहागरातले महत्वपूर्ण भूमिका खेल्छ। फरक यति हो कि प्रेमविवाह गरेका जोडीहरू विवाहअघिदेखि नै  घुलमिल हुने भएकाले सुहागरातको दिन केही थोरै मात्र असहज हुन्छन् भने विवाहअघि बोलचालसमेत नभएका मागी विवाहका जोडीहरूका  लागि भने निकै सकसपूर्ण हुन्छ यो रात। प्रेमविवाह भन्दा मागी विवाह गर्नेहरूका लागि अविस्मरणिय बन्छ— सुहागरात। सामान्यतः सुहागरात  यौनसम्पर्कसँग मात्रै जोडेर हेरिन्छ। वास्तवमा यो रात त्यत्तिकैमा सीमित भने छैन। दोहोरो सन्तुष्टिपूर्ण सम्बन्धका लागि यो रात अधिकांशका  लागि निकै कष्टप्रद हुन सक्छ। त्यसैले पनि यस्ता कुरामा ख्याल राख्दै लामो समयको मिठासपन र अभ्यासपछि दुवैको हाउभाउ बुझेर मात्र  यौनसम्पर्कमा प्रवेश गर्नु उचित हुन्छ। अन्यथा जीवनसंगीको मनोभावमा गम्भीर असर पर्न सक्छ।

बढ्दो सम्बन्धविच्छेदको एउटा कारण असफल सुहागरातलाई पनि मानिन्छ। प्रत्यक्ष रूपमा किटान नगरिए प्ानि अप्रत्यक्ष रूपमा यस्तै कारणले  सम्बन्धविच्छेद बढ्दै गएका छन्। घरमा समय नदिएको बहानामा हुने अधिकांश सम्बन्ध विच्छेद यस्तै प्रकृतिका हुन् भन्ने कुरा बारम्बार  सञ्चारमाध्यममा सार्वजनिक भैरहेका छन्। सजीव प्राणी भएपछि यौन सबैका लागि आवश्यक छ। कसैका लागि थोरै त कसैका लागि धेरै हुन  सक्छ, तर जीवनसाथीको पर्वाह नगरी एकलौटी स्वार्थ पूरा गर्न चाहनेहरूमध्ये अधिकांशको दाम्पत्य जीवन टुटेको छ। यौन जस्तो व्यक्तिगत  मामिलामा समेत श्रीमान्-श्रीमतीबीच समझदारी भएन भने अन्य कुराको केही मतलब रह्दैन। एउटा भनाइ छ, भान्छाबाट सुरु भएको  झगडा ओच्छानमा पुगेपछि अन्त्य हुन्छ तर ओच्छानममा भएको झगडा पारपाचुकेमा पुगेर टुंगिन्छ। त्यसैले श्रीमान्-श्रीमती दुवैले आपसी  समझदारीमा एक-अर्काको आवश्यकतालाई ध्यानमा राखी सुहागरातलाई स्मरणीय बनाउनुपर्छ, जसले  भावी जीवनलाई सुखद बनाउन टेवा  पुर्‍याउँछ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com