Headlines News :
Home » » धेरै पोलेको, धुवाँमा सेकेका खाना खाँदा क्यान्सरहुने खतरा

धेरै पोलेको, धुवाँमा सेकेका खाना खाँदा क्यान्सरहुने खतरा

काठमाडौं, फागुन १
क्यान्सरसँग मानिसको जीवनशैली र व्यबहारको प्रत्यक्ष सम्बन्ध छ। 'अधिकांश क्यान्सरका कारणबारे मानिस सचेत भए रोक्न सकिन्छ', वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.आरती शाहले भनिन्। विश्व क्यान्सर अनुसन्धान कोषको अध्ययनले दैनिक खाद्य परिकार राम्रोसँग निरीक्षण र परीक्षण गरेर मात्रै खाने गरे क्यान्सरको जोखिम ३० देखि ४० प्रतिशतसम्म कम गर्न सकिन्छ। छानेर स्वस्थ एवं सन्तुलित भोजन खाने, शारीरिक व्यायाम गर्ने र धुमपानमुक्त भए ६० देखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ।
चिकित्सकका अनुसार खाद्य परिकार र जीवनशैली, बढ्दो औसत आयू, तीब्र शहरीकरण र औद्योगिकरण क्यान्सरको प्रमुख कारण हुन्। क्यान्सरले उमेर, जात र क्षेत्र भन्दैन। स्वस्थ र अस्वस्थ जीवनशैलीका आधारमा भने भेदभाव गर्छ।
अनुसन्धान अनुसार ९० प्रतिशत क्यान्सरको कारण धुम्रपान, सूर्ति, अस्वस्थ खाना, रहनसहन र वातावरणीय प्रभाव हो। बाँकी १० प्रतिशत क्यान्सर शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ। साथै विकिरण, व्यावसायिक प्रदुषण, भाइरस, परजिवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलता पनि क्यान्सरका कारण हुन्। अनुसन्धान अनुसार नेपालमा सबैभन्दा बढी फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तन क्यान्सर हुने गरेको छ। त्यसमध्ये महिलामा पाठेघरको र पुरूषमा फोक्सोको क्यान्सर बढी छ। जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर लागेको हुन्छ।
'फोक्सो एवं मुख र घाँटी क्यान्सरको कारण धुम्रपान एवं सूर्तीजन्य पदार्थ सेवन हो। पेट, कलेजो एवं आमासय क्यान्सरको कारण खानपान र जीवनशैली नै हो', भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा.अन्जनीकुमार झाले भने, 'पाठेघरको जाँचबाट समयमै थाहा पाउन सकिन्छ, महिलाले आफै छामेर स्तन क्यान्सर अनुमान लाउन सक्छन्।'
समयमै पहिचान गर्न सक्दा क्यान्सर निको पार्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ।
डा.शाहका अनुसार धेरै पोलेको, धुवाँमा सेकेका खाद्य परिकार खाने बानी परेका मानिसमा क्यान्सरको संभावना बढी हुन्छ। 'बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारमा क्यान्सरजन्य सशक्त तत्व हुन्छन्', शाहले भनिन्, 'यसको सट्टामा खाद्यवस्तुलाई कम तापक्रममा बफाएर र उसिनेर खाँदा लाभदायक हुन्छ।'
जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोको क्यान्सर लाग्ने खतरा बढी हुने चिकित्सकको भनाई छ। यस्ता खाद्यान्न स्तन क्यान्सरको पनि कारण बन्छन्। 'तापक्रम नमिलाई धेरै दिनसम्म थन्क्याएर राखेको, ढुसी परेको खानाले क्यान्सर हुनसक्छ', डा.शाह भन्छिन्, 'पग्लिएर वा स्वाद बिग्रिएर जाने खाद्य पदार्थ किन्दा या घरमा ल्याउँदा यथोचित तापक्रमका साथ फ्रिजमा राखेर मात्रै खानुपर्छ।'
चिकित्सकका अनुसार नूनवेसी हालेको खानाले पेटको क्यान्सर हुने हुनाले स्वादका लागि मसलाको प्रयोग बढाउन सकिन्छ। 'बजारमा अनेकथरि रंग राखिएका र प्रिजरभेटिभ हालेका कृतिम तत्व मिसाएका खाद्यान्नले क्यान्सरको जोखिम बढाउँछ', डा.झा भन्छन्, 'सकेसम्म प्राकृतिक र ताजा खाएमा विकृत जिनहरु बढ्न पाउँदैनन्, डिब्बामा बन्द र गाडेका अचार त खानै हुन्न।'
प्रोटिन र कार्वोहाइडेड बढी खाँदा तौल बढ्ने र बढी तौल पनि पेट, पाठेघर, पित्तथैली, प्रोस्टेट क्यान्सरको कारण बन्ने विज्ञको भनाई छ। धुम्रपान एवं खैनी, गुड्खा पान सुपारी तथा तम्बाखु सेवनले मुख, घाँटी श्वासनली र फोक्सो आदिको क्यान्सर गराउँछ। चिकित्सकका अनुसार क्यान्सर रोकथामका लागि शरीरको तौल धेरै कम र बेसी हुन दिनुहुन्न। सागपात गेडागुडी, फलफुल, आलु, सख्खरखण्ड बढी खानाले जोखिम घटाउँछ।
सामान्यतः गेडागुडी, सुप, आलु, रोटी दालभात तरकारीकासाथै प्रसस्त सागपात र फलफुल खानुपर्ने चिकित्सक बताउँछन्। दैनिक घटिमा ४०० ग्राम फलफुल, सागपात र ५ सय ६० ग्रामसम्म खानामा दालभात लगायत गेडागुडी समावेश गर्नुपर्ने चिकित्सिकको सुझाब छ। पालिस नगरिएका गेडागुडीले पोषणसँगै क्यान्सरको रोगथाम गर्ने क्षमता बढाउँछ। सकेसम्म रातो मासु खाँदै नखाने, खाँदा पनि एकपटकमा ६० देखि १०० ग्रामभन्दा बढी नखाने।
क्यान्सर बिरुद्ध काम गर्ने अन्तराष्ट्रिय संस्था यूआइसिले २०३० सम्ममा करिब १ करोड ७० लाख मानिस क्यान्सरबाट प्रभाबित हुने जनाएको छ। नेपालमा करिव ५० हजार क्यान्सर रोगी अनुमान गरिएको छ। नेपालमा जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको हुन सक्छ। यसमध्ये करिब पैंतालीस सय बिरामी मात्र अस्पताल पुग्छन्।
नेपालमा बर्षेनि ५० हजार नयाँ बिरामी थपिने अनुमान छ। '९० प्रतिशतलाई क्यान्सर रोग लागेको थाहै हुँदैन, थाहा पाउँदा उपचारमा ढिला भइसकेको हुन्छ,' डा.झाले भने, 'शरीरमा अस्वभाविक परिवर्तन आउनेबित्तिकै अस्पताल पुगे रोग निको पार्न सकिन्छ।'
फरकफरक ठाउँका क्यान्सरको लक्षण फरक हुने भए पनि सामान्यतः निको नहुने खोकी वा धोत्रो स्वर हुनु, स्तन वा शरीरको अरु ठाउँमा नदुख्ने गिर्खा आउनु, कोठीको आकारमा परिवर्तन हुनु क्यान्सरका लक्षण हुन्। त्यस्तै निको नहुने घाउ, अत्यधिक रक्तस्राव या पिप, दिसा वा पिसाब गर्ने बानीमा फेरबदल, अपच वा निल्न गाह्रो भए क्यान्सर शंका गरि अस्पताल पुग्नुपर्ने विज्ञहरू बताउँछन्।
के हो क्यान्सर?
शरीरमा करोडौँ साना कोषिका हुन्छन्। कतिपय कोष दैनिक मर्ने र नयाँ बन्ने गर्छन्। नयाँ कोषिका बन्ने र मर्नेकुरा जिनद्धारा नियन्त्रित हुन्छन्। प्रतिकुल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य भएर बिस्तारै गिर्खा (ट्यूमर) को रुपमा परिणत हुन्छन्। यस्ता गिर्खामध्ये एक ठाउँबाट अर्को ठाउँमा सर्ने खालका गिर्खा क्यान्सर हो।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com