काठमाडौं, फागुन १
बजारमा रातो र निलो गरी दुई रङको सिलिण्डर आजदेखि प्रयोगमा ल्याइएको छ। नेपाल आयल निगमले एलपिजी ग्यासको व्यवसायलाई व्यवस्थित गर्दै घरायसी उपभोक्तालाई अनुदान दिने उद्देश्यले दुई रङका सिलिण्डर प्रयोगमा ल्याउन निर्देशन गरेअनुसार आजदेखि २ रङका सिलिण्डर प्रयोगमा ल्याइएको हो।
घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोग हुने र उनीहरुले निश्चित रकम अनुदान पाउने छन् भने निलो व्यावसायिक प्रयोजनका लागि भएको हुँदा त्यसबाट अनुदान प्राप्त हुने छैन।
सरकारले निगमको वास्तविक लागतका आधारमा दुवै रङका सिलिण्डरको मूल्य एकल कायम गर्ने र चारजनासम्मको परिवारले हरेक महिना प्रति सिलिण्डर अनुदान पाउने छन्।
कुन-कुन बैंकबाट के कति अनुदान उपलब्ध गराउने भन्ने विषयमा छलफल चलिरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बताए।
उपभोक्ताले एलपिजी कार्ड र बिक्रेताबाट खरिद गरेको बील सम्बन्धित बैंकमा पेस गरेपछि अनुदान प्राप्त गर्ने छन्। सो अनुदान दुई महिनाभित्रमा लिइसक्नुपर्ने हुन्छ।
निगमलाई अहिले प्रति सिलिण्डर रु ५८८ घाटा रहेको र एक महिनाअघि (जनवरीमा) एलपिजी ग्यासमा करिब रु ८० करोड घाटा रहेको छ।
निमित्त कार्यकारी निर्देशक अग्रवालले यो प्रक्रियालाई व्यवस्थित गर्न केही समय लाग्ने भए पनि यसबाट निगमको घाटा कम हुने र उपभोक्तालाई निश्चित रकम अनुदान दिन सहयोग पुग्ने बताए।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !