फागुन ९ – भारतका ११ मजदुर युनियनले महङ्गी, बेरोजगारी र श्रमनीतिको विरोधमा गरेको देशव्यापी आमहड्तालका कारण भारतको जनजीवन कष्टकर बनेको छ ।
यातायात सेवा, उद्योग, कलकारखाना लगायत सरकारी कार्यालयका कामकाज ठप्प भएका छन् । बैङ्क, सरकारी निकाय लगायत अत्यावश्यक क्षेत्रका कर्मचारी हड्तालमा उत्रिएकाले बिजुली आपूर्तिमा समस्या हुनुका साथै खाद्यान्नको भाउ बढ्न सक्ने अनुमान गरिएको छ । बन्द हड्तालले गर्दा १५ देखि २० हजार करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने उद्योगी व्यवसायीले बताएका छन् ।
भारतको नयाँ दिल्ली स्टेसनमा यात्रुहरु अलपत्र परेका छन् । त्यहाँका ७० हजार ट्याम्पु चालक हड्तालमा छन् । तर मुम्बईका ट्याक्सी र ट्याम्पु चालक भने हड्तालमा नरहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । विहारमा प्रदर्शनकारीले रेल सेवा अवरुद्ध पारेका छन् ।
बंगाल, गुजरात, महाराष्ट्र, दिल्ली, हरियाणा लगायतका क्षेत्रमा बन्द हड्तालको बढी असर परेको छ । आर्थिक मन्दीको संकट लागिरहेका बेला मजदुर संगठनहरुले आह्वान गरेको दुई दिने हड्तालले अर्थतन्त्रमा ठूलो क्षति पुग्ने विश्लेषण गरिएको छ ।
बढ्दो महङ्गी नियन्त्रण र तलबभत्ता बृद्धिको माग गर्दै मजदूर संगठनले हडताल गरेका हुन् । हड्तालमा निस्कने कर्मचारीको तलब कटौती गर्ने चेतावनी दिँदै हड्ताल रोक्ने सरकारको प्रयास निरर्थक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !