काठमाडौं, फाल्गुन २
एक तिब्बती युवकले राजधानीको बौद्धस्थित बौद्ध स्तुपामा आत्मदाह प्रयास गरेका छन् । आत्मदाहका लागि बिहान पौने ९ बजे आगो झोसेलगत्तै पुगेको प्रहरीले ती तिब्बती युवकलाई उद्दार गरी शिक्षण अस्पताल पुर्याएको छ ।
बौद्ध प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । २२/२३ वर्षका देखिने युवकको परिचय खुलेको छैन । प्रहरी प्रवक्ता केशव अधिकारीका अनुसार बौद्धस्थित एक क्याफे नजिकै पेट्रोल छर्केर आगो झोसेका हुन् ।
तिब्बती नागरिकको उल्लेख्य बसोबास रहेको बौद्धक्षेत्रमा सुरक्षा कडा पारिँदै आएको छ । स्वतन्त्र तिब्बत माग गर्नेहरुले यस क्षेत्रमा पटक पटक प्रदर्शन गर्ने गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार क्याफेमा आएका हतार हतार पेट्रोल छर्केर आगो सल्काएका थिए । शरीरमा आगो बल्न थालेपछि चीनविरोधी नारा लगाउँदै भागेका थिए । स्थानीय र प्रहरीले पानी खन्याए पनि पूरै शरीरमा आगो लागिसकेको थियो ।
नेपालमा चीनविरोधी आन्दोलन गर्न छुट छैन । काठमाडौंमा रहेका तिब्बती नागरिकको विषयमा चीनले उच्चस्तरमा छलफल गर्ने गरेको छ ।
अघिल्लो वर्ष पहिलोपटक तय भएको चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणमा तिब्बती शरणार्थीले सामूहिक आत्मदाहको चेतावनी दिएपछि रोकिएको थियो । लगत्तै गुपचुपमा वेन पाँच घण्टाका लागि काठमाडौं भ्रमण गरी फर्केका थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !