अखबार पढ्ने र साहित्यमा रुचि राख्नेहरूले सबैभन्दा बढी रुचाउने मध्येका लेखक खगेन्द्र संग्रौला जन्मिदा (२००३) देशमा जहानियाँ राणा शासनले रातको अन्तिम प्रहर काटिरहेको थियो । सारा देशलाई अन्धकारमा राखेर आफ्नो सत्ता सुरक्षित गरिरहेका तानाशाहको शासन कालमा मानिसहरूका लागि बाँच्नु नै सबै थोक थियो । सत्ताको चलखेलदेखि निक्कै टाढा पूर्वी पहाडी जिल्ला पाँचथरको सुभाङ, गुरुङ छापमा पनि त्यस्तो खास जीवन थिएन । जन्मने, युवा हुने खेतीपातीको काम गर्ने, त्यसपछि बुढो हुने र मर्ने त्यहाँका मानिसहरूको जीवन चक्र त्यति मात्रै थियो । त्यो एक किसिमको सुस्त जीवन थियो । त्यसमा कुनै नयाँ जीवन थिएन । सूचना प्रविधिदेखि टाढा, विकास र जीवनको फराकिलो क्षितिजको कल्पनासमेत गर्न नसक्ने त्यहीँ गाउँमा एक दिन 'सरस्वती मिडल स्कुल' नामको आधुनिक विद्यालय खुल्यो । संयोगवस त्यो संग्रौला कै पुस्ताको समय थियो । ज्योतिषीको काम गर्ने संग्रौलाको बुबालाई अक्षरको महत्व थाहा नहुने कुरै थिएन । उहाँलाई अक्षरले नाम दिन्छ, अक्षरले दाम दिन्छ, अक्षरले जीवनको नयाँ आयाम देखाऊँ भन्ने थाहा थियो । त्यसैले संग्रौलाले स्कुलमा अध्ययन गर्ने अवसरमात्र पाउनुभएन बुबाको कल्पनालाई यथार्थमा परिणतसमेत गरिदिनुभयो ।बाबुको १० जना छोराछोरीमध्ये संग्रौलासहित पांच भाइ छोरा हुनुहुन्थ्यो । उहाँ काइला छोरा । संग्रौलालाई लाग्छ बाबुको ज्योतिष, मिडल स्कुलका शिक्षक लीला शिवाकोटी र अर्का शिक्षक भानुभक्त ढाकालको संयुक्त योग वर्तमान खगेन्द्र संग्रौला हो । बुबा प्रत्येक हिउँदमा दार्जिलिङ, कालेबुङ, खार्साङ र कहिलेकाँही सिक्किमतिर जानुहुन्थ्यो । उहाँ ग्रहदशा हेर्ने, चिना लेख्ने वा मानिसहरूको भाग्य बनाइदिने काम गर्नुहुन्थ्यो । त्यसबापत प्राप्त पैसा परिवारको आर्थिक स्रोत थियो ।
स्कुल भर्ना हुँदा संग्रौला १० वर्षको हुनुहुन्थ्यो । स्कुलका शिक्षक लिला शिवाकोटी संग्रौलाको आँखामा ज्योति छरिदिने पहिलो व्यक्ति हुनुहुन्थ्यो । पछि शिक्षक भानुभक्त ढकालले जीवनको आदर्श के हो, अक्षर के हो, भन्ने ज्ञान भरिदिनुभयो । पढाइमा तेजिलो भएकोले उहाँले मिडल स्कुलबाट ७ कक्षाको पढाइसकेर तमोर पारिको हाइस्कुलमा पढ्न जानु अगाडि एक वर्ष मिडल स्कुलमा पढाउने अवसरसमेत पाउनुभएको थियो ।
गाउँको मध्यम वर्गीय परिवारमा जन्मिनुभएको संग्रौलालाई एउटा किसानले गर्ने काम सामान्य दाउरा काट्ने, भेँडा हेर्नेलगायत सबैको अनुभव छ । त्यसो त स्थापित लेखक हुनु अगाडिको शिक्षक जीवनका तीतामीठा थुप्रै घटनाहरू उहाँको स्मरणमा उनिएका छन् । लम्जुङ, तनहुँ र चितवनसमेतका स्थानहरूमा शिक्षक भएर वामपन्थी राजनीतिका सहयोगी भई हिँड्दा उहाँले ज्यानको खतरासमेत मोल्नु भएको थियो । शिक्षक हुँदै खेरी तनहुँको बन्दीपुरको अस्पतालका नर्स जमुना गुरुङसँग प्रेम विवाह गर्नुभएको संग्रौलाले बिहे गर्ने बेला पनि निकै तनाव खेप्नु परेको थियो । अन्तर्जातीय विवाह भएकोले लाहुरे ससुराले छोरीलाई 'बाहुनसँग बिहे गर्नेभए तिमी मेरो लागि छोरी रहेनौँ र म तिम्रो लागि बाबु रहिन' भन्नेसम्मको चेतावनी दिनुभएको थियो । बाबुको चेतावनी वेवास्ता गर्दै विवाह गर्नुभएको संग्रौला दम्पतीले छोरी जन्माएपछि मात्र ससुरालीसँग सम्बन्ध विस्तार गर्न सक्नुभयो । 'छोराछोरी भनेको सम्बन्धको सेतु बन्दो रहेछ ।' तीन वर्ष अगाडि बित्नुभएको ससुराको सम्झना गर्दै संग्रौला भन्नुहुन्छ 'हाम्रो छोरी भएपछि पहिले सासु आउनुभयो । विस्तारै हाम्रो सम्बन्ध बढ्दै गयो । पछि त, उनी ससुराको सबभन्दा मनपर्ने छोरी, ससुराको लागि म सबभन्दा मनपर्ने ज्वाई भएँ ।'
संग्रौला तेह्रथुमको आठराईमा आईए अध्ययनरत रहँदादेखि साहित्यमा प्रखर देखिनुभएको थियो । दार्जिलिङमा चलेको चर्चित साहित्यिक आन्दोलन तेसं्रो आयामको हावाले नजिकै रहेको तेह्रथुमलाई पनि राम्ररी छोएको थियो । विद्यालयमा विभिन्न साहित्यिक प्रतियोगिता हुन्थ्यो । कथाकार गुरुप्रसाद मैनालीको लेखनबाट प्रभावित संग्रौला कथा लेख्नुहुन्थ्यो र प्रायः पुरस्कार पाउनुहुन्थ्यो । पुरस्कारमा पाइने एउटा कापी वा कलम उहाँको लागि हौसला मात्र भएन साहित्यलाई निरन्तरता दिँदै यहाँसम्म आउने प्रेरणाको स्रोत पनि भयो । उहाँले हालसम्म करिब २० वटा विदेशी कृति अनुवाद गर्नुभएको छ भने 'नलेखिएको इतिहास' -२०३४), 'हस्तक्षेप', 'मइ दिवस', 'हाँडी घोप्टेको जितवाजी' र 'सेतेको संसार' कथा सङ्ग्रह लेख्नुभएको छ तथा 'आमाको छटपटी' -२०३४) र 'जुनकिरीको सङ्गीत' दुई वटा उपन्यास प्रकाशित छ । 'जनआन्दोलनका छर्राहरू' -२०४८), 'घोडा ईश्वर र मेरा बा' र सम्झनाका कुइनेटाहरू उहाँको निबन्ध सङ्ग्रह हुन् । त्यसबाहेक बाल्यकालीन सम्झनाहरू समेटिएको पुस्तक 'सम्झनाको ऐनाका तस्बिरहरू'समेत प्रकाशित छ । अनुदित कृतिहरूमध्ये सबभन्दा चर्चित 'युवाहरूको गीत' हो । माओत्सेतुङले नेतृत्व गर्नुभएको चिनियाँ क्रान्तिबारे लेखिएको यो उपन्यास नेपालको कम्युनिस्ट आन्दोलनमा निक्कै महìवपूर्ण कृति मानिन्छ ।
वि.स.२०२३ सालमा काठमाडौँ आएपछि गाउँ नफर्किएका खगेन्द्र काठमाडौ हिँड्दा दाइले दिनुभएको छ सय रूपियाँ अझै पनि याद गर्नुहुन्छ । आठराई चुहान डाँडाको सिटौला परिवारको आडमा काठमाडौँ ओर्लिएको बताउनु हुने संग्रौलालाई आईएमा सबभन्दा धेरै नम्बर ल्याएबापत प्राप्त महेन्द्ररत्न छात्रवृत्तिको प्राप्त मासिक १९५ रूपियाँले पनि निक्कै ठूलो मद्दत गर्यो । उहाँले बिए पढ्न थाल्दा भारतमा नक्सलवादी आन्दोलन चलिरहेको थियो, चीनमा सांस्कृतिक क्रान्तिको आगो बलिरहेको थियो । एउटा सानो देश भियतनाम शक्तिशाली अमेरिकासँग लडिरहेको थियो । त्यसले उहाँलाई प्रत्यक्ष राजनीतिमा सामेल हुन उक्सायो । उहाँ वामपन्थी आन्दोलनमा लाग्नुभयो । भन्नुहुन्छ 'म नेता कहिल्यै भइन, झण्डा बोकेर सबभन्दा अगाडि पनि कहिल्यै उभिईन तर आन्दोलनमा लागेर नारा लगाउन र ढुङ्गा हान्ने संलग्नता भयो ।'
गर्जन साप्ताहिक हुँदै कान्तिपुरको नियमित स्तम्भकार हुँदासम्म उहाँ देशको पहिलो नम्बरको लेखकमा स्थापित भइसक्नुभएको छ । विशेष गरी दरबार हत्या काण्ड, माओवादी विरूद्ध शेरबहादुर देउवाले लगाएको संकटकाल र संसदबादी दलहरूले राजालाई निर्वाचित संसद बुझाई दिएको विरुद्ध तीखो कलम चलाएपछि उहाँ स्थापित हुनुभएको हो । 'दरबार हत्याकाण्डमा जर्नेलहरू, खानदानीहरू, धनाढ्यहरू सबै दीपेन्द्रलाई दोष लगाउने थिए । दीपेन्द्र आफ्नो प्रतिरक्षा गर्न सक्ने थिएनन् । सबैले एउटा लाशमाथि दोष थोपरे । मैले त्यसमाथि आशंका गरेँ ।' संग्रौला भन्नुहुन्छ 'रक्सी खाएर मातेको, कालोपदार्थ खाएर लठि्ठएको र कोठामा लगेर सुताइएको एउटा व्यक्तिले गह्रुँगो हतियार बोकेर आˆनो परिवारका सदस्यलाई मात्र छानिछानी कसरी मार्यो ? अर्को दीपेन्द्र दाहिने हात चलाउँथे उसको बाँया कञ्चटमा आफँैले कसरी गोली हाने भन्ने मेरो तर्क रहृयो । त्यसले मेरो अखवारी लेखनमा धेरै ठूलो पहिचान बन्यो । मुलुकको सबै सञ्चार माध्यम र सञ्चार माध्यममा पहँुच भएका धनाढ्यहरू एक मतमा थिए, म भिन्न मतमा थिएँ । शेरबहादुर देउवाले संकटकाल लगाएर माओवादी विरुद्ध सेना परिचालन गरेपछि त्यसलाई विरोध गर्न मैले प्रतिकात्मक रूपमा एउटा पात्र बनाएँ । कुन्साङ काका त्यो नाम खगेन्द्र संग्रौला भन्दा प्रख्यात भयो । त्यसपछि संसदवादी दलहरूले राजालाई लगेर संसद बुझाई दिए र संकटकाल लगाए । म त्यो सङ्कटकालको पनि विरोधमा उभिएँ । यी तीन घटनामा मेरो हस्तक्षेपले मेरा पाठकहरू धेरै भए । प्रशंसकहरू धेरै भए । अहिले म जे छु मेरो परिचय त्यसैबाट भयो ।'
उमेरले औसत नेपालीको आयुभन्दा धेरै काटी सक्नुभएको संग्रौला अहिलेसम्मको आˆनो जीवन पूर्णरूपमा सफल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- ''पाँचथरको त्यो ठाउँबाट यो स्थितिमा आइपुग्दा मलाई ६३ वर्ष होइन । पाँच सय वर्षको आयु बाँचिसकेँ झै लाग्छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !