Headlines News :
Home » » फोनमा कुरा गरेकै भरमा भयो विवाह

फोनमा कुरा गरेकै भरमा भयो विवाह


दुलहाबिना दुलही भित्र्याइयो भन्ने सुन्दा अनौठो लाग्नु स्वाभाविक हो तर मानेभन्ज्याङ-२, धिमिलेस्थित एक घरमा यस्तै भएको छ। स्थानीय बासिन्दा डोरबहादुर मगर तथा हस्तमायाले आफ्नो छोराको अनुपस्थितिमै बुहारी भित्र्याए।

मगर दम्पतीका १९ वर्षीय छोरा गुन्जराज मगर मलेसियामा छन्। छोराकै सहमति एवं निर्देशनमा बुबाआमाले मोरङको केराबारी-७ बाट आएकी २० वर्षीया पूजा मगरलाई बुहारीका रूपमा घर भित्र्याएका हुन्। दुई वर्षदेखि गुन्जराज मलेसियामा भए पनि गएको एक वर्षदेखि गुन्जराज र पूजाबीच फोन सम्पर्कमार्फत प्रेमसम्बन्ध अघि बढेको थियो। उनीहरूको अहिलेसम्म प्रत्यक्ष भेटघाट भएको छैन। प्रेमसम्बन्ध गहिरिएपछि उनीहरू लोग्ने-स्वास्नीकै सम्बन्ध कायम गर्न तयार भएका हुन्।

'छोराले फोन गरेर बुहारीकै रूपमा घरमा राख्नू भन्यो।' गुन्जराजकी आमा हस्तमायाले भनिन्, 'घर सोद्धै यहाँ आइपुगेपछि हामीले पनि बुहारीकै रूपमा भित्र्याएर राख्यौँ।' छोराले मन पराएर बुहारी बनाउने भनेपछि आफूहरूलाई स्वीकार गर्न गाह्रो नभएको हस्तमायाले बताइन्। उनका अनुसार बुहारीका आफन्तमार्फत उनीहरूबीच टेलिफोन सम्पर्क भएको हो। पूजा कक्षा १२ मा अध्ययनरत युवती हुन्।

यो रोचक घटनालाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन्। 'सुन्दा अनौठो भए पनि यो नराम्रो कुरा होइन।' स्थानीय धिमिले निमाविका प्रधानाध्यापक रामबहादुर राईले भने, 'हामीले त यसलाई परम्परावादी संस्कारको क्रमभंगताकै रूपमा लिएका छौँ। यो फोनमा कुराकानी गरेकै भरमा झांगिएको प्रेमको उदाहरण पनि बन्न पुगेको छ।'

यस सम्बन्धमा बुहारी पूजाले आफूहरूको प्रेम सम्बन्धलाई सार्थकता दिन यस्तो निर्णय गरेको बताइन्। 'हामी दुवै जनाबीचको सहमति मात्र नभएर मेरो परिवारका सदस्यहरूसमेतको सहमतिमा यस्तो निर्णय गरेकी हुँ।' पूजाले भनिन्, 'मेरो परिवारमा सबै शिक्षित हुनुभएकाले पनि यसलाई नराम्रो रूपमा लिइएन।' पूजा मगर नरबहादुर र तुलसीमायाका चार भाइ छोरासहित एकमात्र छोरी हुन्।

गुन्जराज मगर डोरबहादुरकी कान्छी श्रीमतीतर्फका दुई भाइ छोरा र तीन बहिनी छोरीमध्येका जेठा हुन्। उनी कक्षा आठ सम्म अध्ययन गरेर पढाइ छाडी विदेश गएका थिए। परिवारका सदस्यहरूका अनुसार एक वर्षपछि छोरा मलेसियाबाट र्फकने तयारीमा छन्। छोरा नआउँदा समेत पूजालाई बुहारीकै रूपमा घरमा राख्ने उनीहरूको निर्णय छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com