कोलम्बो, फाल्गुन ५
श्रीलङ्कामा गएराति राजधानी कोलम्बोमा कार्यरत एकजना पत्रकारको हत्या प्रयास भएको छ । उनलाई आफ्नै निवासमा गोली हानिएको थियो । उनको घरमा मध्यराति गरिएको सो हत्या प्रयासको जिम्मेवारी कसैले लिएको भने छैन ।

सन्डे लिडर नामको पत्रिकामा कार्यरत उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । गएरातिदेखि नै उनलाई अस्पताल भर्ना गरिएको तर अचेत अवस्था रहेको बताइएको छ ।
फराज साउकेट्ली नामका ती पत्रकारलाई किन र कसले गोली हानेको हो भन्ने बारेमा केही तथ्य बाहिर नआएको राजधानी कोलम्बोबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रहरीले ती अज्ञात बन्दुकधारीको खोजी भइरहेको बताएको छ । तर यस विषयमा कुनै तथ्यको नजिक आउन नसकिएको प्रहरीले जनाएको छ । सो पत्रिकाका सम्पादकको पनि यसअघि हत्या भएको थियो । उनको सन् २००९ मा अज्ञात बन्दुकधारीले हत्या गरेको समाचारमा जनाइएको छ ।
यसरी अज्ञात बन्दुकधारीले हत्या गर्ने क्रम श्रीलङ्कामा विगतदेखि नै जारी रहेको पाइएको छ । गएको दशकमा मात्र श्रीलङ्काका १७ जना पत्रकारको हत्या भएको थियो।
तर ती सबै हत्याका बारेमा केही तथ्य भने बाहिर आएको छैन । अधिकांश हत्याका हत्यारा नै पत्ता लाग्न सकेका छैनन् । सो पत्रिकाका सम्पादक लासान्था विक्रामुताङ्गाको पनि सन् २००९ मा उनको घर नजिकै हत्या भएको थियो । उनी राष्ट्रपति महिन्दा राजापाक्छाको शासनका एक कडा आलोचक थिए ।
श्रीलङ्कामा करिब तीन दशकसम्म चलेको तामिल टाइगरहरुको सशस्त्र विद्रोह र गृहयुद्धको अन्त्य भएपनि पत्रकारमाथिको आक्रमण भने रोकिएको छैन ।
सो समयमा पनि त्यहाँका पत्रकारहरु सरकारी पक्ष र विद्रोहीको चेपुवामा पर्दथे । सो युद्धको अन्त्य भइसक्दा पनि पत्रकारको हत्या भने रोकिएको छैन ।
श्रीलङ्का सरकारले सन् २०११ मा सङ्कटकालीन अवस्थाको अन्त्यको घोषणा गरेको थियो । तरपनि पत्रकारहरुले सेन्सरसिप तथा भौतिक हमलाकै सामना गर्नुपरिरहेको बताइरहेका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !