बर्दिया, फागुन १३ – बर्दियाका विभिन्न फाँटामा बस्दै आएका सुकुम्बासी र मुक्त कमैयालाई प्रलोभन देखाएर सुकुम्बासी तथा मुक्तकमैयाकै अगुवाले रकम असुलिरहेको खुलासा भएको छ । सुकुम्बासीलाई कार्ड र मुक्त कमैयालाई जग्गा वितरण गर्ने भन्दै वनफरुवा फाँटाकी अगुवा लौटी थारुले रकम असुलेको पीडितहले बताएका छन् ।
बनफोरुवाकी अगुवा लौटीले सुकुम्बासी र मुक्तकमैयाबाट प्रति परिवार १ हजार २ सय देखि ३ हजार रुपैयाँसम्म रकम उठाइरहेकी छन् । सुकुम्बासी फाँटामा बसिरहेका सुकुम्बासीका अनुसार लौटी थारुले फाँटामा पुगेर रकम जम्मा गर्न दवाव दिने गरेकी छन् ।
बनफोरुवा फाँटामा रहेका ४६ र धैरेनी फाँटाका ८ सुकुम्बासी परिवारबाट प्रति परिवार १ हजार ५ सयका दरले रकम उठाइएको छ । फाँटामा विगत् १० बर्ष देखि मुक्त कमैया र सुकुम्बासी परिवार बस्दै आएका छन् ।
आफुहरुलाई राती फाँटामा भेला गराइ रकम जम्मा गर्न दवाव दिने गरेको र सुकुम्बासीहरुलाई परिचय पत्र र मुक्त कमैयालाई जग्गा नाप नक्सा गर्न रकम आवश्यक परेको भन्दै रकम उठाउने गरेको एक सुकुम्बासीले बताए । ‘सुकुम्बासी कार्ड बन्ने र जग्गा पाइने आशामा हामीले रकम दिएका हौँ’, उनले भने ।
फाँटामा रकम उठाईरहेकी अगुवा लौटी थारुले अनाहकमा रकम नउठाएको दावी गरिन् । आप्mनो हिँडडुल खर्च, सुकुम्बासी र मुक्तकमैयाको अधिकारका लागि काम गर्ने अधिकारकर्मीलाई नास्ता खर्च, गाडी भाडा र सुकुम्बासी परिचय पत्र बनाउन रकम आवश्यक परेकाले ४६ घरपरिवारबाट १ हजार ५ सय रकम उठाएको उनले स्वीकार गरिन् ।
‘काम गर्नेले नास्तापानी खानु पर्यो । भाडा चाहियो र पारिश्रमिक दिनु पर्यो’, थारुले भनिन्, ‘फाँटामा निर्णय गरेरै १ हजार ५ सय उठाएको हो । अनाहकमा कसैबाट पैसा उठाएको हैन ।’
सुकुम्बासी समस्या समाधान आयोगले काम ढिलो गरेको हुनाले ३–४ जना कर्मचारी राखेर काम गराएको थारुको भनाई छ ।
अखिल नेपाल सुकुम्बासी संगठनको क्षेत्रीय बैठक बसी निर्णय गरेर रकम उठाएको उनले स्वीकार गरिन् ।
‘रकम उठाएको पुष्टि भए कारवाही’
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति बर्दियाका अध्यक्ष आनन्द ढुंगानाले सुकुम्बासी फाँटामा गएर कसैले रकम उठाएको पुष्टि भएमा कारवाही गर्ने बताउनुभयो । ‘रकम उठाएको भनेर जानकारी आएको छ । तर कसले उठायो भन्ने थाहा छैन’, ढुंगानाले भन्नुभयो, ‘रकम लिने दिने दुबै दोषी हुन् । प्रमाण फेला परे पैसा लिनेदिने दुबैलाई कारवाही गर्छौँ ।
यही क्षेत्रमा मन्त्रीपरिषदको निर्णयमा सयौँ वर्ष पुराना हरिया सालका रुख कटानी गरेर वनफडानी भईरहेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !