Headlines News :
Home » » चर्पी नबनाए सरकारी सेवाबाटै वञ्चित !

चर्पी नबनाए सरकारी सेवाबाटै वञ्चित !


बागलुङ फागुन ४
बागलुङ नगरपालिकाले कार्यालयबाट प्रदान गरिने केही सेवा प्राप्त गर्न अनिवार्यरुपमा घरमा चर्पी हुनुपर्ने सर्त राखेको छ । नगरक्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्ने अभियानअनुसार प्रत्येक घरधुरीलाई अनिवार्य चर्पी निर्माणको लागि दबाब दिन यस्तो सर्त अघि सारेको हो । घरमा चर्पी नभएका घरधनीलाई बसाइसराइ दर्ता, घर निर्माणको स्वीकृति र नयाँ घरमा पानी, बिजुलीका सिफारिस नदिने कार्यालयले जनाएको छ । एक घर एक चर्पीको अभियानलाई सार्थक तुल्याउन यस्तो कार्यक्रमअघि सारेका हौँ कार्यकारी अधिकृत यदुनाथ पौडेलले भन्नुभयो । आगामी चैत २५ गतेभित्रै बागलुङ जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको छ । सोहीअन्तर्गत हालसम्म नगरपालिका क्षेत्रभित्र पनि खुला दिसामुक्त अभियान तीव्र पारिएको छ । 
नगरपालिकामा रहेका १२५ टोलमध्ये अहिले ९२ वटा टोल खुल्ला दिसामुक्त घोषणा भइसकेको कार्यालयले जनाएको छ । बाँकी टोल पनि घोषणाको तयारी रहेका छन् । त्यस्तै नगरपालिकाका तीन वटा वडा पनि खुल्ला दिसामुक्त भइसकेका छन् भने थप पाँच वडाले घोषणाको तयारी गरेका छन् । चर्पी निर्माण गर्न उत्प्रेरणा जगाउन कार्यालयले अभियान नै चलाउने निर्णय गरेको छ । कच्ची चर्पीलाई पक्की बनाउनको लागि विशेष अभियान सञ्चालन गर्ने तयारी भएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।
खुल्ला दिसामुक्त घोषणा गरेका टोल विकास संस्थालाई नगरपालिका कार्यालयले पुरस्कार तथा सम्मान पनि प्रदान गर्दै आएको छ । जसअनुसार हालसम्म ७६ टोल विकास संस्थाले सम्मान ग्रहण गरिसकेको अधिकृत पौडेलले बताउनुभयो । त्यस्तै ६४ घरधुरीले पक्की चर्पी बनाएबापत पुरस्कार पाउन सफल भएका छन् । ४१ वटा घरले कच्ची चर्पी बनाएबापत सम्मान लिइसकेका छन् । नगरक्षेत्रको चार स्थानमा सार्वजनिक शौचालय र एक ठाउँमा सामुदायिक शौचालय निमार्णको लागि प्रक्रियाअघि बढाएका कार्यालयले जनाएको छ ।
नगरपालिकाले २०६४ सालमा गरेको सर्वेक्षणअनुसार नगरक्षेत्रमा रहेका कुल पाँच हजार १३६ घरधुरीमध्ये चार हजार २११ घरमा पक्की चर्पी प्रयोग गर्ने गरेको पाइएको थियो । त्यस्तै ९२५ घरधुरीले अस्थायी चर्पी र २४६ घरधुरीले खुल्ला ठाउँमा दिसा गर्ने गरेको पाइएको थियो । रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com