नुवाकोट, माघ २९
कुकुरले टोक्न खोजेको निहुँमा प्रहरीले नुवाकोटको त्रिशूली बजारका स्थानीय व्यवसायीलाई कुटपिट गरेको विरोधमा स्थानीय बासिन्दाले आज त्रिशूली बजार बन्द गरेका छन्। स्थानीयको विरोधले नुवाकोटको मुख्य त्रिशूली, बिदुर, बट्टारलगायतका बजार बन्द रहेका छन्। रसुवा र नुवाकोटबाट काठमाडौँ जाने पासाङल्हामु राजमार्ग हुँदै चल्ने यातायातका साधनसमेत ठप्प भएको छ।
त्रिशुली बजारमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएका सुमन भनिने नरेन्द्रबहादुर जोशीको कुकुरले गएराति गस्तीमा रहेको प्रहरीलाई टोक्न खोजेको भन्दै कुकुर मालिकलाई निर्घात कुटपिट गरेपछि स्थानीय बासिन्दाले आज बिहानैदेखि प्रहरीविरुद्ध बजार बन्द गरेर विरोधमा उत्रिएका हुन्।
यसअघि हिजो साँझ दुर्घटनामा ज्यान गुमाएकी गेर्खु गाविस-९ की ९१ वर्षीया मनकुमारी डङ्गोलका आफन्तले उचित क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि बिदुर र आसपासमा विरोध गरिरहेका छन्। रासस


0 comments:
Speak up your mind
Tell us what you're thinking... !