Headlines News :
Home » » ल्होछार मेलामा सुन्दरी बहस

ल्होछार मेलामा सुन्दरी बहस

काठमाडौ, माघ २९
'मामा र फुपूका सन्तानसँग बिहेवारी चल्ने हाम्रो संस्कृतिचाहिँ मलाई मनै पर्दैन,' हातको बाला घुमाउँदै मिग्मा डोल्माले संस्कृतिबारे कुरा राख्न के भ्याएकी थिइन्, छेउमा कान थापेर बसेकी उनकी संगिनी सुक्मित घिसिङले जवाफ दिइन्, 'त्यसलाई त्यति नराम्रै भन्न पनि मिल्दैन है, सांस्कृतिक मूल्य र मान्यता न हो ।' टुँडिखेलमा सोमबार हजारौं तामाङ ल्होछार मनाइरहँदा मिस तामाङका प्रतिस्पर्धी युवतीहरू भीडको छेउमा बसेर यसरी संस्कृतिका राम्रा र नराम्रा पक्ष केलाउँदै थिए ।
उमेरले उस्ता- उस्तै । परम्परागत गरगहनामा सजिएका कतिपय सुन्दरीहरू भने आफ्नै संस्कृतिबारे बुझ्ने अभ्यास गरिरहेका थिए । यिनीहरूबीच मिग्मा र सुक्मितचाहिँ चर्चाचर्की बहसमै उत्रिरहेका थिए । काभ्रेकी २० वषर्ीया मिग्माले मामा र फुपूका सन्तानबीच गरिने विवाह संस्कृतिको विरोधमा विचार राखिन् । त्यसको सकारात्मक पक्षमा रौतहटकी १८ वषर्ीया सुक्मितको तर्क पनि कम थिएन । उनले सांस्कृतिक चिनारी जेजस्तो भए पनि त्यसलाई जोगाउनतिर युवापुस्ता लाग्नुपर्ने उनी बताइरहेकी थिइन्, 'पुर्खौंदेखि चलिआएको परम्परामा केही वैज्ञानिकता त अवश्य होला नि ।'

मिग्माले चाहिँ 'फरक परिवेश र रगतको मेल हुन सके भावी पुस्ता प्रतिभाशाली हुने' भन्दै कतै सुनेको भनाइ राखिन् । काली हिस्सी परेकी सुक्मित पनि के कम ? बिहे गर्दा केटा र केटी दुवैलाई राम्रोसँग नजिकबाट बुझ्नुपर्ने हुँदा आफ्नो संस्कृतिमा चल्दै आएको बिहे परम्परा सान्दर्भिक हुने र यसो हुँदा 'हेला, अर्गेल्याइँ कम हुनुका साथै घरेलु हिंसा पनि नहुने तर्क पेस गरिन् ।

यी दुईको चर्काचर्कीको बीच मध्यस्तकर्ताको भूमिकामा थिइन्- रेनु श्रेष्ठ । मिग्माकी बाल्यकालीन साथी भएकाले उनी आफू तामाङ समुदायकी नभए पनि ल्होछार मनाउन आउने बताइन् । 'संस्कृति, परम्परा र मूल्यमान्यता समयसापेक्ष परिवर्तन हुँदै जाने कुरा हुन् । यी सबै मान्छेसँगै बाँधिएको हुँदा आवश्यक परे सच्याएर पनि संस्कृतिलाई निरन्तरता दिन सकिने मझधारे तर्क गरिन् रेनुले चाहिँ । केही महिनाअघि राजधानीमा सम्पन्न मिस नेवाःमा सहभागी भई मिस फोटोजेनिक समेत दरिएकी २० वषर्ीया रेनुले भनिन्, 'तर युवा पुस्ताले कल्चरचाहिँ भुल्नु नहुने रहेछ ।' नुवाकोटकी १९ वषर्ीया सविना नेगी लामाले चाहिँ अरूभन्दा फरक शैली, परम्परा, मूल्यमान्यता भएकै कारण तामाङ संस्कृतिमा मौलिकता रहेको दाबी गरिन् । 'त्यही भएर पनि हाम्रो छुट्टै पहिचान बनेको हो,' सविनाले भनिन्, 'तर मानव जातिलाई नकारात्मक असर गर्ने संस्कृति चाहिँ परिर्वतन गर्दै जानुपर्छ जस्तो लाग्छ ।' उनले यसको मूल दायित्व युवा वर्गकै रहेको बताइन् ।

यही कारण मिस तामाङमा सहभागी भएको सुनाउँदै उनले नयाँ पुस्ताले आधुनिकताको आफ्नो मौलिकता गुमाउँदै गएको सुनाइन् । 'म आफंै पनि एउटा उदाहरण हुँ,' उनले भनिन्, 'बच्चैदेखि सिक्नुपर्ने मेरो संस्कृति यतिबेला बल्ल बुझ्दै छु ।'

डम्फुसँगै तामाङ पोसाक आङरे, गा, स्यामा र मुगा मालामा सजिएका प्रायः युवतीहरूले आफ्नै संस्कृतिबारे अध्ययन गर्न भने धेरै नै बाँकी रहेको सुनाए । ''लुङ्गीलाई 'स्यामा' र पछ्यौरीलाई 'ग्ाा' भनिन्छ,'' नुवाकोटकी १९ वषर्ीया सीता डिम्दुङ तामाङले आफूले पहिरिएको पोसाक देखाउँदै आधुनिक बजारमा यसैलाई फेसनेबल बनाउन सकिने दाबी गरिन् । आफ्नो संस्कृतिको सबैभन्दा लोभलाग्दो पाटो वेषभूषालाई मान्ने उनले तर्क थियो- पहिरन नै व्यक्तिको पहिलो परिचय हो ।

२८४९औं डुल -सर्प) ल्होछारको अवसरमा तामाङ समुदाय सम्बद्ध विभिन्न संघसंस्थाले गरेको एक साता लामो महोत्सवको माहौलमै एभरेस्ट फेसन होम र नेपाल तामाङ कला संस्कृति केन्द्रले ७ औं मिस तामाङ गर्न लागेको हो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा ५ गते महोत्सव थलो टुँडिखेलमै हुने एभरेस्ट फेसन होमकी निर्देशक रञ्जिता लामाले बताइन् । महोत्सवमा भने तामाङ कला संस्कृति झल्कने स्टल, परिकार, लोकबाजा प्रदर्शनी, कसन्र्टसमेत राखिएका छन् । ल्होछारको मुख्य दिन सोमबार साँझसम्म विभिन्न सेलो गायक/गायिकाले गीत पस्केका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com