Headlines News :
Home » , » दुलही जग्गेमा, दुलाहा खेतमा खेल्दै

दुलही जग्गेमा, दुलाहा खेतमा खेल्दै


चितवन, फागुन ७

पूर्वी चितवनको वीरेन्द्रनगर मुख्य सडकबाट ३ सय मिटर टाढाको गाउँ। बिहेको बाजा घन्किँदै थियो। जन्ती र लोकन्ती भोजभतेरमा मग्न थिए। घरवरपर ध्वजापताका, बिहे हेर्नेको भिड।
पण्डित वैदिक मन्त्र जप्न व्यस्त थिए। दुलहीका आफन्त जन्तीको सत्कारमा खटिएका थिए। दुलाहाचाहिँ जग्गेमा चकचक गर्दै थिए। 'स्वयम्बर गर्न दुलही ल्याउनुपर्यो,' पण्डितले उर्दी गरेपछि दुलही लिएर संगीहरू आइपुगे। दुलही जग्गेमा त बसिन्, तर दुलाहा जग्गेमा थिएनन्।
सबैले बिहेघर वरपर दुलाहालाई खोज्न थाले। आखिर खेतको फाँटमा खेलिरहेको अवस्थामा भेटिए। 'तेरो बिहे भैरा'छ, कहाँ माटो खेल्न आएको?' आफन्तले दुलाहा भीम राउतलाई हपारे। भर्खर १० वर्ष नाघेका भीमलाई बिहे भनेकै थाहै थिएन। एकछिन खेलेर आउँछु भन्दै दुलाहा जिस्किन पो लागे। आफन्तले उनलाई समातेर दसै टेकेकी दुलही आरतीको छेउमा राखे।
पण्डितको मन्त्रोच्चारण र जन्ती-लोकन्तीको खुसी दुलाहा-दुलहीलाई केही मतलब थिएन। एकअर्कासँग यसो हेर्दै बालसुलभ खेलको चकचकीमा मस्त थिए उनीहरू। पण्डितले मन्त्र पढ्दै स्वयम्बरको फन्को घुम्न लगाए। उनीहरू रुमाललुकाइ खेलमा झैँ रमाइलो मानेर फन्फनी घुमे। जग्गेमा बसेर चरु होम्नुभन्दा दुलही संगीहरूसँग, 'सरस्वती पूजा कस्तो भयो, स्कुलमा?' भनेर सोध्दै थिइन्। दुलाहा पनि कतिखेर भागेर माटो खेल्न जाउलाझैं गरेर छटपट गर्दै थिए।
वीरेन्द्र आदर्श माविमा कक्षा ३ मा पढ्दै गरेकी आरतीको निरक्षर भीमसँग बिहे हुँदैथियो। उनका बुबा भरतपुर नगरपालिकाको सरसफाइ कर्मचारी हुन्। आरतीका बुबा राजेन्द्र गाउँमै किसानी गर्छन्। 'हाम्रो परम्परा नै यस्तै हो,' उनले भने, 'बेलैमा छोरीलाई अन्माउन पाउनु नै ठूलो कुरा हो। चार छोरीमध्ये सबैभन्दा सानी आरतीको बिहेमा उनले साइकल र करिब १० हजार रुपैयाँ दाइजो दिए। आफन्तले ल्याइदिएका कोसेली र उपहार पनि पठाइदिए। बालविवाह गर्न नहुने थाहा पाएका उनी कतैबाट प्रहरी आएर समात्छ कि भनेर त्रसित पनि देखिन्थे।
गाउँमा धुमधाम बालविवाह हुँदा छिमेकीले पनि विरोध जनाएनन्। 'वर्षौदेखिको परम्परा छिट्टै परिवर्तन हुँदो रहेनछ,' छिमेकी राजन मलीले सुनाए। गाउँकै गान्धी राउतको पनि सानैमा बिहे भयो। यसै वर्षदेखि मात्र उनी दुलाहाको घर बस्नेगरी आएकी छन्।
भर्खरै बिहे भएकी आरतीकी साथी नौ वर्षीया किरण राउतको पनि गत वर्ष अमरजित राउतसँग बिहे भयो। बिहे भइसकेकी रेखा राउतलाई पनि यसबारे थाहा छैन। 'ठूलो भएपछि लिन आउँछन् रे,' उनले भनिन्, 'अहिले बिहे गरेको मात्र हो।'
कानुनअनुसार १८ वर्ष नपुगेसम्म छोरीको विवाह गर्न पाइँदैन। उक्त गाउँमा १२ वर्ष पुगेका अधिकांश बालिकाको विवाह भइसकेको छ। उनीहरू खेल्दा, स्कुल जाँदा पनि चुरापोते र सिउँदोमा सिन्दुर लगाई पछ्यौरी ओढेर हिँड्ने गर्छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com