महोत्तरी, फागुन १२ – प्रमुख अतिथि कसलाई बनाउने भन्नेमा एकीकृत माओवादी र नेकपा एमालेबीच विवाद चर्किएपछि सिन्धुलीको भिमानमा आयोजित एक कार्यक्रम औपचारिकता विना नै सकिएको छ ।
कमलामाई नगरपालिका ११ भिमानमा सहिदको शालिक अनावरण कार्यक्रममा आआफ्नो पार्टीका नेतालाई प्रमुख अतिथि बनाउन दवाव बढेपछि विवाद भएको हो ।
माओवादी कार्यकर्ताले आफ्ना केन्द्रीय सदस्य गंगा श्रेष्ठ र एमालेले जनकपुर अञ्चल सचिव केशब देवकोटालाई कार्यक्रमको प्रमुख अतिथि बनाउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबीच तिब्र विवाद भएको थियो । विवाद कुटाकुटमा परिणत हुने अवस्था आएपछि प्रमुख अतिथि र औपचारिकता विना नै कार्यक्रम सकिएको छ । विबादका कारण कार्यक्रममा कसैले आसन ग्रहण र मन्तव्य व्यक्त गरेनन् ।
भिमानमा सरकारको १३ लाख र स्थानियवासीको ४ लाख बराबरको जनश्रमदान गरी १७ लाख रुपैयाँको लागतमा शहिदहरु ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी र दलबहादुर रजन मगरको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रम थियो ।
सहिद पत्नीले गरे अनावरण
प्रमुख अतिथिमै विवाद भएपछि सहिदका श्रीमतिले शालिक अनावरण गरेका छन् । विवादले उग्र रुप लिन थालेपछि शहिद आजादकी श्रीमति गोमा देवकोटा र शहिद दुर्गा सुवेदीकी श्रीमति कल्पनाले नै शालिकको अनावरण गर्नु भएको हो ।
कमलामाई नगरपालिका ११ भिमानमा सरकारको १३ लाख र स्थानियवासीको ४ लाख बराबरको जनश्रमदान गरी १७ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको हो ।
दुई दलबीचको विवादले कार्यक्रममा तनाब हुने देखेपछि शालिक निर्माण समितिका अध्यक्ष इन्द्रप्रसाद ढुंगेलले कार्यक्रम औपचारिकतामा प्रवेश नै नगरि सकिएको जानकारी दिनुभयो ।
दुई दलबीचको विवादले सहिदको अपमान भएको भन्दै कार्यक्रममा उपस्थित भएका सर्वसाधारणले दुई दल विरुद्ध नाराबाजी समेत गरेका थिए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !