बुटवल, फाल्गुन ८
रूपन्देहीकी एक किशोरी शिक्षकद्वारा बलात्कृत भएकी छन् । हर्नैयास्थित सरस्वती प्राविका निमित्त प्रधानाध्यापक जितु भन्ने २२ वर्षीय भीमनारायण थारूले बिहीबार हर्नैया गाविसकी ती किशोरीलाई बलात्कार गरेका हुन् । दिउँसो चार बजेतिर गाईभैंसीलाई पराल लिन खेतमा गएका बेला थारूले उनलाई बलात्कार गरेका थिए । पराल थुत्दै गर्दा एक्कासि पछाडिबाट आएर भुईंमा लडाएर मुख छोपी बलात्कार गरेको पीडित किशोरीले बताइन् ।
बलात्कारपश्चात् रगताम्य उनी करिब ५ बजे रुँदै घर फर्केकी थिइन् । घरपरिवारले गाउँमा गुहार मागे पनि धेरैले घटनालाई गाउँमै मिलाउन र बाहिर नल्याउन सुझाव दिएका थिए । तर बाबु र केही आफन्तले पीडितलाई न्यायका लागि त्यही दिन बेथरी प्रहरी चौकी पुर्याएका थिए । बेथरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । पीडितको प्रारम्भिक अनुसन्धानबाट बलात्कारको पुष्टि भएपछि प्रहरीले बिहीबार राति नै भीम अस्पतालमा मेडिकल जाँच गराएको जिल्ला प्रहरीका नायब उपरीक्षक पोषराज पोखरेलले बताए । स्थानीय बासिन्दाको दबाबका बाबजुद अधिकारकर्मीको सहयोगमा पीडित किशोरीले अभियुक्त थारू विरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । बलात्कार गरी फरार भएका थारूलाई बेथरी प्रहरी चौकीले गाउँबाट शुक्रबार पक्राउ गरेको थियो । पीडितको निवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले अभियुक्तलाई म्याद थप गरी अनुसन्धानमा राखेको नायब उपरीक्षक पोखरेलले जनाए । यसअघि बलात्कारमा परेकी छोरीको न्यायको खोजी गर्दै जिल्ला प्रहरी कार्यालयमा आएका किशोरीका बाबुलाई स्थानीय अगुवाहरूले गाउँको घटना गाउँमै मिलाउनुपर्छ भन्दै हर्नैया लगेका थिए । स्थानीय बासिन्दाले मुद्दा दर्ता नगर्न र गाउँमै घटना मिलाउन दबाब दिएपछि किशोरीका बुबा जाहेरीबिना नै फर्केका थिए ।
घटना मिलाउन केही स्थानीय राजनीतिक दलका अगुवा र विद्यालय निकटका व्यक्ति शुक्रबार, शनिबार र आइतबार पटक-पटक गाउँमा बैठक बसेका थिए । तीन लाख रुपैयाँसम्म रकम दिन्छौं घटनालाई बाहिर नलग भनेर पनि दबाब दिएका थिए । आफूले पैसा नहेरेर छोरीको न्यायका लागि गुहार मागेको बाबुले बताए । स्थानीय घिसन यादवले गाउँमा अझै पनि कानुनभन्दा पैसालाई ठूलो मानेर हिंसा मिलाउने प्रयास हुने गरे पनि यसपालि ठूलो चुनौती खेपेर प्रहरीकहाँ पुगेको बताए । 'अभियुक्त पक्षबाट लोभ लालच र त्रास सबै आएका छन् । तैपनि न्यायका लागि हामीले बाहिर निस्कने पहल गर्यौं,' उनले भने । करिब एक महिनाअघि हर्नैया गाविसमै दुई महिलाको हत्या भएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !