Headlines News :
Home » » प्रेम गर्ने सबैका लागि “समर लभ”

प्रेम गर्ने सबैका लागि “समर लभ”

प्रतिमा खरेल
मैले लेखें – “मलाई तिम्रो सब कुरा मनपर्छ ,साया । तिमीसित वास्ता रख्ने हरेक चीज मन पर्छ । त्यस्तो कुनै चीज छैन तिम्रो जो मलाई मन नपर्ने होस्” ।

आजकाल मलाई तिमीसित प्रत्यक्ष /अप्रत्यक्ष सरोकार राख्ने सबै चीज मन पर्न थालेको  छ । यो संसार मन पर्छ किनकि तिमी यै संसारमा छ्यौ । मलाई आजकाल आफ्नै नाँउ मन पर्न थालेको छ ,साया । किन थाहा छ ? किनकि तिमी आफ्नो मिठो आवाजले मेरो नाउँलाई सम्बोधन गरेर बोलाउँछ्यौ ।

त्रिभुवन विश्वविद्यालय सी.डी.इ.एस को विद्यार्थि साया र अतीतको प्रेम कथामा आधारीत यो उपन्यास शुरुमा खासै मन छोएको पाईदैन । जब अतीत र सायाको भेट हुन्छ अनी उपन्यासले एक किसिमको गती लिन्छ जँहा पाठक सजिलै हराउने छन् । यो उपन्यासले आम युवाहरुको स्टुडेन्ट लाईफमा हुने यथार्थ कुराहरुलाई समेटेको पाईन्छ क्लासमा हल्ला गर्नु ,पछाडी बेन्चमा बस्नु ,केटाहरु राम्री केटीहरु तिर आँखा लगाउनु ,क्लास छोड्नु, टिचरको खिल्ली उढाउनु ,प्रेम गर्ने जोडीहरु लास्ट बेन्च तिर बस्नु जस्ता कुरा पठ्दा हरेकलाई आफ्नो जिन्दगीको त्यो रमाईलो दिनको याद नआउला भन्न सकिन्न ।

यसरी शुरुको दिनहरुमा त्रिभुवन विश्वविद्यालय सी.डी.इ.एस इन्ट्रान्स टपर सायालाई पहिल्याउन अनेक उपाए अपनाएका अतीत सायालाई चिने पछि थोरै दिनको भेटघाटमा नै प्रेमीका बनाउन सफल हुन्छ । विद्यार्थि जीवनको आम युवायुवतीहरुको जस्तै र कति युवायुवतीहरु भन्दा अलि फरक रफ्तारमा उनिहरु प्रेमरुपी डुङ्गामा सवार गरिरहेका हुन्छन । क्याम्पस देखी घर सम्मको साथ , कम्बाईनड स्टडीको बाहनामा रोमान्स , फिल्ड वर्क होस या घरमा कोही नभएको बेला होस हरपल एकअर्काको साथमा मग्न हुन खोज्नु उनीहरुको दिनचर्या नै बनिसकेको हुन्छ । दिनानुदिनको बढ्दो निकटताले उनीहरु भावनात्मक सम्बन्ध मात्र हैन शारीरीक सम्बन्धको प्यास पनि मेटाउन पुग्दछन् । एकअर्कामा समर्पित देखीएका यी जोडी प्रेममा मात्र नभई पढाईमा पनि अब्बल हुन्छन् र भेट भएको झन्डै दुई बर्ष पछि टि.यु बाट बिदा लिन्छन् । मान्छे जति टाढा भयो माया उती गाढा हुन्छ भने जस्तै एकअर्काबाट टाढा (साया नर्वे र अतीत नेपालको धनगढी) हुँदा स्काइप र फेसबुकमा बारम्बार झुण्डेर कुरा गर्न तल्लीन यी जोडीलाई बिछोडको पिडाले खपी नसक्नु हुन्छ र आफ्नो प्रेमलाई जीवन्त दिने निर्णय गर्दै साया नेपाल आएर अतीतसंग बिहे गर्छिन । तर, अन्तिममा सायाले अतीतसंग देखाएको अपत्यारीलो नाटकीय व्यवहार देख्दा पाठक त्यती बेला मात्र यो उपन्यासबाट ब्युझन्छन् र त्यसको उत्तर नपाउँदा भने मनमा एक किसीमको खुलदुली मच्चिन्छ । यसरी एउटा मामुली कथा ,कुनै हेरीरहेको चलचित्रको दृश्य जस्तो लाग्ने खासै गहन र नौलो विषय बस्तु नबोकि पाठकलाई सजिलै आर्कषण गरेको देख्दा ” समर लभमा ” कुनै जादु पक्कै छ जस्तो लाग्दछ तर , कुनै-कुनै मोडमा आवश्यक भन्दा बढी शब्द खर्च गरेर र एउटा प्रसंगको शिलशिला चलिरहँदा लेखक एकै पटकमा अर्को प्रसंगमा हाम फालेको देख्दा भने अलीकती दिक्क लाग्दछ । हुन त उपन्यासको रमाईलो पृष्टभुमिमा रम्न थालेपछि यस्ता झिनामसीना कुरामा अल्झने मौका पटक्कै पाईदैन । “समर लभमा ” प्रयोग भएका पात्रहरु मध्य किरण र प्रतिक्षाको आगमनले उपन्यासमा अझ निखार ल्याएको छ । उनीहरुको हाउभाउ ,बोल्ने शैली , हाउडेपन, फेसबुकमा हाल्नको लागी फोटो खिच्नु आदी जस्ता कुराले अहिलेको युवापुस्ताको हुबहु चित्रण गरेको छ । लेखकलेे एक दुई ठाउँमा देशप्रतिको प्रेम पोख्न समेत चुकेका छैनन् । नेपाली जस्तो अनुहार देख्दैमा आफ्नै दिदी बहिनी दाजुाभाई देखे जस्तो भान हुन्छ भने एयरपोर्टमा भेट भएको जर्मनीलाई समेत नेपाल सुन्दर छ भन्दै घुम्न आउन निम्तो दिएर नेपालीको नेपाल प्रतीको माया देखाएका छन् । अत्यन्तै सरल भाषामा सानासाना कुराहरुलाई पनि उन्न नबिर्सनु लेखकको अर्को सबल पक्ष रहेको छ । उपन्यासको अर्को भावुक र लज्जालु पात्र सुस्मिताको चरित्र देख्दा अजीव लाग्दछ । जीवनको एक अनकन्टार उदाश र कालो दिन बोकेर आफ्नो लिभर समेत खराब हुनेगरी चुरोट र रक्सीको साथमा रमाईरहेका अतीतलाई सुस्मिताका साथ र समर्पणले केही राहत मिलेको देख्दा कथाले अर्को मोड लिनेहो की जस्तो भान हुन्छ । उपन्यासको अन्त्यतिर भने लेखकले पाठकलाई अझ गम्भीर बनाएका छन् । अन्तिमको लेखन शैली र उनले आफ्नो प्रेम दर्शाउन खर्चेका शब्दहरुले भने पाठकको मन मात्र पगाल्दैन कहीँकहीँ त थाहै नपाई आँखा रसाउन पुग्दछ ।

“तिमीसित बिहा गर्दा मैले सब त्यागे । तर म वञ्चनाले छट्पटाइँन । आमाको ममता मैले मिस गरिँन । पिताको वात्सल्य गुमाइँन” जस्ता शब्दले मुटुनै कटक्क खान्छ ।

यसरी लेखकले साँचो प्रेम गर्नेहरु प्रेमको वियोगमा कसरी छट्पटाउँछन् भनेर बुझाउने जमर्को समेत गरेका छन् भने आजको युवा पुस्ताहरुमा देखिने प्रेमरोग क्षणभरमै प्रेममा चर्लुम्म डुब्न अनी ह्रवात्तै पार लाग्न               बेर नलाग्ने अवस्थाको सही चित्रण गरेका छन् । समग्रमा भन्नु पर्दा लेखकले पाठकलाई छोटो मिठो         सवाल जवाफले रोमाञ्चीत बनाएका मात्र छैनन् ,अत्यन्तै रमाईलो तरीकाले उपन्यासको अन्तिम घडीसम्म बचाउँछन् ।

युवा पुस्ताको पढाइ लेखाइ ,प्रेममा भोगीने दुःख, रोमान्स ,जात नमिल्दा आईलाग्ने कठिनाइ ,भागेर गरीने विवाह , साथि भाई संग चल्ने एक किसीमको रमाईलो , जीवनका हन्डर ठक्कर र नसोचेका तीता मिठा पलहरुलाई एकमुष्ट गरेर अत्यन्तै मार्मीक र रहस्यमय तरीकाले तयार पारीएको एक सुन्दर उपन्यास हो समर लभ । लेखकले पुस्तकको शुरुवातमा भने जस्तै वास्तवमै “समर लभ” प्रेम गर्ने सबैका लागि हुन पुगेको छ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com