प्यूठान, फागुन १०
प्यूठानमा ४१ लाख २६ हजार रुपैयाँ विद्युत महशुल उठाउन बाँकी रहेको पाइएको छ ।
सरकारी कार्यालयहरुबाट १२ लाख ५६ हजार रुपैयाँ तथा अन्य संघसंस्था, उद्योग र ग्राहस्थ उपभोक्ताबाट २८ लाख ७० हजार रुपैयाँ महशुल उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले जनाएको छ ।
प्राधिकरणका अनुसार प्यूठान अस्पतालबाट सबैभन्दा बढी ६ लाख ३ हजार रुपैयाँ विद्युत महशुल उठाउन बाँकी छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले १ लाख ४४ हजार रुपैयाँ र विजुवार प्रहरी चौकीले पनि ४३ हजार रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणका निमित्त कार्यालय प्रमुख बासुदेव गौतमले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासको विजुली महशुल पनि बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
महसुल नबुझाउनेमा जिल्लाका बिभिन्न उद्योग, प्रतिष्ठित ब्यापारी, संघ संस्था र सञ्चार माध्यम समेत रहेका छन् । लामो समयदेखि महसुल नतिरेका कार्यालय र ग्राहकलाई बारम्बार पत्राचार गरेपनि महसुल बुझाउन अटेर गरेको कार्यालयले जनाएको छ । विद्युत प्राधिकरणका प्यूठानमा १२ हजार ५७ जना ग्राहक छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !