सिरहा, १९ वैशाख । नरहा बल्कावा गाविसमा भैंसीले परालको भुस खाएको निहुँमा हिजो दुईपक्षबीच झडप हुँदा १२ जना घाइते भएका छन् ।
नरहा बल्कावा–२ का रमेश यादवको भैंसीले पोखरीको डिलमा राखिएको चन्द्रदेव यादवको परालको भुस खाएपछि विवाद भएको हो ।
दुईपक्षबीच झडप हुँदा नरहा–२ का भैंसीधनी रमेश, हर्षनारायण, अनारवती, विनोद, हरिमोहन, देवलाल र रघुवीर घाइते भए । त्यस्तै परालको भुसधनी पक्ष नरहा–१ का रामसगुन, रामसोगारथ, रामचरित्र, रघुवीर, रामभरोसी र रामकुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेमध्ये अधिकांशको टाउकामा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताउनुभयो । झडपमा दुवैपक्षले फर्सा, लाठीलगायतका घरेलु हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको भन्दै ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रअयोध्यापुर–९ पानबारीका अनिल, उदय, संजित, संजय, राजेन्द्र, विन्देश्वर, रामपुकार र रामदयाल यादव रहेका छन् ।
स्रोतका अनुसार गत चैतमा विद्यालय व्यवस्थापन समिति गठनदेखि दुईपक्षबीच इबी रहिआएको थियो । विद्यालय व्यवस्थापन समितिको गठनमा भैंसीधनी पक्षका हरिमोहन यादवलाई अध्यक्ष नबनाई मिलेमतोमा रामकुमार यादवको पक्षले जुगत महरालाई अध्यक्ष बनाएपछि विवाद बल्झिएको हो ।
प्रहरी उपरीक्षक न्यौपानेले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो । रासस


0 comments:
Speak up your mind
Tell us what you're thinking... !