काठमाडौ, बैशाख १९ – चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस बिहीबार कम्प्यूटर एशोसिएशन अफ नेपाल क्यान र सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले मनाउँदैछन् ।
सूचना प्रविधि क्षेत्रमा भएका उत्कृष्ट प्रयासका बारेमा सूचना संकलन र प्रसार गर्ने उद्देश्यले चार वर्षदेखि क्यानको अग्रसरतामा मे २ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
क्यानले यो वर्षको दिवस सूचना प्रविधि र शिक्षामा केन्द्रित गरेको छ । दिवसले आम नागरिकलाई सूचना प्रविधिको प्रयोगको महत्वबारे जानकारी गराउँदै यसको विकास र विस्तार व्यापक बनाउने क्यानको भनाई छ ।
दिवसको अवसरमा शुभकामना दिंदै मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले देशको सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धनमा दिवसले विशेष भूमिका केन्द्रित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
धेरै जनसंख्या अझै पहुँचबाहिर
सूचना प्रविधिको विकास र विस्तारसंगै ग्रामीण क्षेत्रहरुमा पनि मोबाइलमार्फत इन्टरनेट सेवा प्रवाह हुन थालेको छ । तर सेवा प्रदायक सबै कुरामा सक्षम भएपनि प्रयोगकर्ताले सदुपयोग हुन नसक्दा अझै पनि जनसंख्याको ठूलो हिस्सा सूचना प्रविधिको पहुँच बाहिर रहेका क्यानका द्वितीय उपाध्यक्ष नारायण न्यौपानेले बताउनुभयो ।
पूर्वाधार नहुनु, सूचना प्रविधि सम्बन्धि विषयवस्तुहरु स्थानीय भाषामा विकास नहुनु जस्ता मुख्य समस्या सूचना प्रविधिको विस्तारमा देखिएका छन् । यसबाहेक सुचनाप्रविधिको विकास र विस्तार सरकारको प्राथमिकतामा अझै पनि पर्न नसकेको र नीति निर्माण तहमा यसबारे चासो नदिइएको न्यौपानेले गुनासो गर्नुभयो ।
क्यानले सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र यसलाई सबै क्षेत्रका लागि औजारका रुपमा प्रयोग हुनुपर्नेमा जोड दिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !