२९ वैशाख, काठमाण्डौं । एमाले अनुशासन आयोगले पार्टी विघटन प्रक्रियामा उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ। निरन्तरको अनुशासनहीनता र गुटबन्दीले पार्टीमा निकै समस्या आएको भन्दै आयोगले आफ्ना सुझावहरूलाई कार्यान्वयन गर्न केन्द्रीय कमिटीको ध्यानाकर्षणसमेत गराएको छ। शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको २१औं बैठकमा आयोगको तर्फबाट अध्यक्ष अमृतकुमार बोहराले सात पृष्ठको प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विघटन प्रक्रियातर्फ उन्मुख भइरहेको किटानी गरेका हुन्।
पार्टीमा तेरो र मेरोको भावनाले प्रश्रय पाइरहेको, जनतामाथि भइरहेको शोषण र उत्पीडनविरुद्ध आवाज बुलन्द गर्नुपर्नेमा तमासे र भनसुनमा सीमित हुने, अवसर र पदलाई नै सबथोक ठान्ने एवं वर्गसंघर्षबाट विमुख हुने प्रवृत्ति बढिरहेको भन्दै आयोगले गम्भीर चिन्ता पनि जनाएको छ। त्यसैगरी, नेताहरूको जीवनशैलीमा अपारदर्शी तडक–भडक बढिरहेको, वर्ग दृष्टिकोण र सोचमा परिवर्तन आएको, निर्धारित विधि, पद्धतिको आधारमा चल्नेभन्दा जालझेल र छलकपटको आधारमा चल्ने प्रवृत्तिको विकास भइरहेको आयोगको समीक्षा र मूल्यांकन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !