Headlines News :
Home » » 'समर लभ'

'समर लभ'

६ माघ, काठमाडौं
रंगिचंगी बेलुनले सजाईएको हल अघिल्तिर मञ्चमा सुन्दरीहरुको उपस्थिति । अघिल्तिर कुर्सीमा किशोरकिशोरीहरु । कपाल फुलेका पाका मान्छे नै नभएको कार्यक्रमले एकातिर भ्यालेन्टाइन डेको झल्को दिन्थ्यो । अर्कोतिर कुनै चलचित्रको कार्यक्रम जस्तो । तर कार्यक्रम, एउटा साहित्यिक पुस्तक विमोचनको थियो ।

फाइन पि्रन्टको प्रकाशनमा सुविन भट्टराईको उपन्यास ‘समर लभ’ विमोचन कार्यक्रमलाई आयोजकले पुस्तकको भाव जस्तै प्रेममय बनाउने प्रयास गरेका थिए ।

पुस्तक विमोचन कार्यक्रममा पूर्व मिस नेपालहरु झरना बज्राचार्य र माल्भिका सुब्बा तथा मोडल पि्रन्सा श्रेष्ठ प्रमुख आकर्षणका केन्द्र थिए । उनीहरु तीनजना र मोडलकै हाउभाउमा देखिने आर.जे.प्रशंस स्याङ्तानले पुस्तकको विमोचन गरे ।

ललितपुरमा शनिबार भएको कार्यक्रममा साहित्यिक व्यक्तिहरुभन्दा किशोरकिशोरीको उपस्थिति बढी थियो । किशोरकिशोरीबीचको मायाप्रेम, बिछोड र बेदनालाई समेटेर उपन्यास तयार पारिएको हुनाले त्यसकै झल्को दिन यसो गरिएको आयोजकले बताए ।

पढ्दै नपढी पुस्तकमाथि टिप्पणी
समर लभ उपन्यास विमोचन गर्ने र त्यसमाथि टिप्पणी गर्नेहरुले आफूहरुले पुस्तक पढ्न नभ्याएको र नपढेको भन्दा दर्शकदिर्घामा बसिरहेकाहरु गल्लल हाँसे । त्यति मात्रै होइन, उनीहरुले नेपाली साहित्य नै नपढेको समेत सुनाए । विमोचन गर्नुपर्ने भएकाले यो किताब चाहिँ सररर एकचोटी हेरेको, तर यो बाहेक अरु किताब छुँदै नछोएको उनीहरुको कुराबाट बुझिन्थ्यो ।

‘किताबको नाम सुन्दा मलाई अंग्रेजी साहित्य हो कि जस्तो लागेको थियो, तर नेपाली रहेछ’ पूर्व मिसनेपाल झरना बज्राचार्यले भनिन्-’म धेरै अंग्रेजी साहित्य मन पराउँछु ।’ उनले नेपाली साहित्य कमै पढ्ने गरेको बताईन् । बिरामी भएकाले समर लभ पनि पुरै पढ्न नपाएको भन्दै उनले किताब समग्रमा राम्रो भएको बताइन् ।

अर्की मिस नेपाल माल्भिका सुब्बाले पनि आफूलाई नेपाली साहित्यमा रुची नभएको बताईन् । ‘मैले यसअघि शिरिषको फूल र सुम्निामा पढेको थिएँ, तर केही बुझिन’ उनले भनिन्-’समर लभ चाहिँ हातमा पर्ने बित्तिकै सररर पढ्दै गएँ, डेढघण्टामै सकें ।’

जाडोमा तताउने पुस्तक !

सुविन भट्टराईको दोस्रो कृति समर लभ प्रेममा फसेका र प्रेमको अनुभव भएकाहरुलाई उपयोगी पुस्तक हो । पुस्तक बिमोचन गर्ने पूर्व सुन्दरीहरु झरना र माल्भिकाले पनि किताब पढेर आफूहरुलाई आफ्नो बेलाको याद आएको बताए । पुस्तकमा कलेज पढ्ने केटाकेटी बीचको प्रेम, उतारचढाब, तनाव, वेदना र बिछोडलाई समेटेको छ । ‘यो जाडोमा समर लभ पढ्नु भो भने तात्नुहुन्छ, त्यसैले तताउनकै लागि पढ्नुस’ लेखक भट्टराईले भने ।

कार्यक्रममा फाइन प्रिन्टका अजित बरालले आफ्नो प्रकाशन गृहले उत्कृष्ट पुस्तक मात्रै प्रकाशन गर्ने भन्दै समर लभ सफल हुने विश्वास व्यक्त गरे ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com