Headlines News :
Home » » ‘चिना हराएको मान्छे’- हरिवंश आचार्य

‘चिना हराएको मान्छे’- हरिवंश आचार्य

‘मलाई सानोमा पुस्तक भन्दा त लट्टाइ, गुच्चा र खोपी मन पर्थ्यो’ शनिबार आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’ को विमोचन कार्यक्रममा कलाकार हरिवंश आचार्यले भन्दै थिए, ‘पुस्तक हेर्नै मन नपर्ने मान्छे लेखक भएँ ।’

हरिवंशकी पत्नी मीराको दोश्रो वार्षिक पूण्यतिथिको अवसर पारेर कार्टुनिष्ट दुर्गा बरालले पुस्तक विमोचन गरे । पुस्तकमा हरिवंश आचार्यको संघर्षका कथा र जीवनका रमाइला र दुःखद क्षणहरु समावेश गरिएको छ ।

‘म आफुखुशी जन्मेको मान्छे नै हैन, मलाई जन्मिने इन्ट्रेस्ट नै थिएन । बा आमाको इन्ट्रेस्टले जन्मिएको, के गर्ने जन्मिएपछि घिस्रिनै पर्‍यो’ मन्तब्यको सुरुमा नै हसाएँ हरिवंशले ‘मलाई जन्माउँदा म बा आमासँग जति खुसी छु, नजन्माएको भए अझै धेरै कृतज्ञ हुने थिएँ ।’

‘मलाई देउता छैन जस्तो लाग्छ, तर कहिलेकाहिं केही बिगार्दिने हो की भनेर डर पनि लाग्छ । मैले आफुले समाधान गर्न सक्ने काम आफै गर्छु, नसक्ने कामका लागि मात्र भगवान पुकार्छु, तर मीरा विरामी भएको बेला भगवानको पूजा गरेँ, सकी नसकी पाठ गरेँ । भगवानको खुव चाकडी गरेँ तर मीराको भौतिक शरीर लगे । त्यसपछि भगवानसँग रिस उठ्यो अनि उनलाई गाली गरेँ ।’

हरिवंशले कविता पनि सुनाए ।

‘भगवान ! अर्को जुनीमा म भगवान बन्छु;
तलाई मान्छे बनाउँछु’

पहिलो पटक लिमिटेड एडिशन पनि

हरिवंशको ‘चिना हराएको मान्छे’को प्रकाशक फाइन प्रिन्टले नेपालमै पहिलो पटक यस कृतिको बाक्लो गाता संस्करण (लिमिटेड एडिसन) पनि बजारमा ल्याएको छ । लिमिटेड एडिशनको बिक्री मुल्य २ हजार रुपैयाँ तोकिएको छ ।

पुस्तक बिक्रीको ९० प्रतिशत रकम हरिवंशकै दिवंगत पत्नी मीराको नाममा सञ्चालित मीरा केयर सेन्टरलाई दिइने प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले जानकारी दिनुभयो ।

पुस्तकबाट ५० लाख रुपैयाँ सामाजिक काममा

हरिवंशको आत्मकथाबाट ५० लाख रुपैयाँ सामाजिक काममा लगाउने प्रकाशकले जनाएको छ । त्यो रकम अनाथ र असहाय वालवालिकाको सहयोगका लागि काभ्रेमा स्थापना गरिएको मीरा केयर सेन्टरलाई दिइनेछ । सेन्टरको शनिबार नै घोषणा गरिएको हो ।

पुस्तकको अग्रिम बुकिङ वापत प्रकाशकलाई प्राप्त भएको ५ लाख रुपैयाँ प्रमुख कार्यकारी अधिकृत भारीले शनिबार नै मीरा केएर सेन्टरका अध्यक्ष समेत रहेकी हरिवंशकी पत्नी रमिला पाठक आचार्यलाई हस्तान्तरण गरे ।

यसरी लेखियो पुस्तक

पत्नी मीरा आचार्यको निधनपछि मानसिक रुपमा विक्षिप्त झैं बनेका हरिवंश आचार्यले कलाकारिता क्षेत्रमा समेत समय दिन छोडेका थिए । यस्तो बेलामा उनलाई पीडाबाट मुक्त गर्न साहित्यकार डा. रविन्द्र समीरले एकदिन १२/१३ वटा प्रश्न पठाएर त्यसको जवाफ मागेका थिए ।

त्यसको उत्तर हरिवंशले ४० पेज लेखेर पठाए । ‘यसरी धेरैपटक प्रश्नउत्तर आदान प्रदान हुँदा लगभग धेरैपेज उत्तर तयार भयो, यो नै पुस्तकको पहिलो पाण्डुलिपी थियो’ समीरले विमोचन कार्यक्रममा भने ।

लगभग ६० हजार शब्द लेखिएपछि त्यसको भाषा सम्पादनमा मदन पुरस्कार विजेता आख्यानकार अमर न्यौपानेले पनि सघाए । हरिवंश र अमरको धेरै समयको मेहनतपछि यो पुस्तक तयार भएको हो ।

‘यसमा एउटा मान्छे शून्यबाट कसरी माथि उठ्न सक्छ र संघर्ष गरेर सफल मान्छे बन्न सक्छ भन्ने बारे कथा छ’ समीरले भने ।

यो एउटा अत्यन्त दुःखद घटनाले जन्माएको सुखद आविश्कार हो’ आख्यानकार न्यौपानेले भने, ' यसमा आत्म प्रशंसा छैन, निर्दोष अभिब्यक्ति छ । उहाँले सबै कुरा भन्नुभएको छ । कतिपय कुरा नभनेरै भन्नुभएको छ, दुई तीन पटक पुस्तक पढेपछि मात्र बुझिने गरी ।’

शीर्षक यसरी राखियो

हरिवंशका बुबा पण्डित थिए । लगातार छोरी जन्मिएपछि उनले हरिवंश पुराण लगाएपछि जन्मिएका कारण नाम हरिवंश राखियो । सानैमा बुबाले हरिवंशको चिना बनाएका थिए ।

‘बल्लबल्ल जन्मेको छोरो भनेर बाआमाले एकतोला सुनको प्रतिमामा मेरो चिना राखिदिनुभएको रहेछ । तर त्यो हराएछ’ पुस्तक विमोचन कार्यक्रममा हरिवंशले भने ‘मान्छेको जीवन चिन्तै चिन्ताले भरिएको हुँदो रहेछ । मेरो चिना सानैमा हरायो, त्यसैले अझ के कस्तो स्थितिबाट गुज्रिनुपर्ने हो केही थाहा छैन ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com