Headlines News :
Home » , » पण्डित भएको भए लुकिलुकि मःम खान्थें होला: हरिवंश आचार्य

पण्डित भएको भए लुकिलुकि मःम खान्थें होला: हरिवंश आचार्य


कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । पुस्तक चिना हराएको मान्छेको सेरोफेरोमा रहेर कलाकार हरिवंश आचार्यसँग उज्यालो अनलाईनका लागि दीपेन्द्र खनियाले गरेको कुराकानीः

‘चिना हराएको मान्छे’ सार्वजनिक गरेपछि मीरा भाउजुलाई कति सम्झनुभयो ?

सम्झिरहन्छु । यतै कतै छ जस्तो लाग्छ ।  हाँसिरहेको जस्तो लाग्छ । अनि रमिलालाई केहि कुरा भनिरहेको जस्तो लाग्छ । मसँग कहिले काहिँ ठुस्की रहेको जस्तो लाग्छ । कहिले काहिँ गाली गरिरहेको जस्तो लाग्छ । त्यो छिनछिनमा पलपलमा सम्झिईदो रहेछ । म व्यूँझेको १८ घण्टा मध्ये नौ घण्टा त उसैलाई सम्झिन्छु । कुनै भाँडा देख्यो भने पनि उसले किनेको हो भन्ने हुन्छ । कुनै जुत्ता देख्यो भने पनि उसले किनिदिएको जुत्ता हो भन्ने हुन्छ । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो छ फोटो हेर्छु अनि त्यहि फोटोसँग कुरा गर्छु ।
तर मलाई आत्मा भन्ने कुरामा बिश्वास लाग्दैन । त्यसैले मीराको आत्मा भनेको पनि हामीले सम्झने यादहरु मात्रै हो । कथम् कदाचित आत्मा भन्ने कुरा रहेछ भने चाहिँ म सम्हालिएको देखेर उनी खुसी नै हुन्छिन् होला किनभने उसलाई सबैभन्दा धेरै चिन्ता नै मेरो थियो । म अलिकति बिरामी हुँदा पनि उनी धेरै चिन्ता गर्थिन् । उनलाई थाहा थियो आफु मुटुको रोगी छु भन्ने कुरा । त्यसैले कहिले काहिँ धड्नकन बढ्ना साथ उनलाई अब म रहन्न कि भन्ने पीर लाग्दो रहेछ । उनलाई आफ्नो भन्दा पनि मेरो नै ठूलो चिन्ता थियो ।

मीरा केयर फाउन्डेसन, मीरा केयर सेन्टर पहिला जन्म्यो कि चिना हराएको मान्छे ?

जन्मिन त मीरा केयर सेन्टर पहिले जन्मिसकेको थियो । जब मीराको भौतिक शरीर हामीसँग रहेन, त्यस पछि मैले के विचार गर्थे भनें उसलाई मर्न दिन्न म उसलाई बचाई राख्छु । मान्छे त जो पनि जन्मे पछि मर्दछन् । सायद म पहिले मरेको भए उनी बाँच्थिन होला । म पहिले मरेको भए उनको सम्झनाको चाँजोपाँजो नमिल्न पनि सक्थ्यो । मीरा केयर सेन्टर मीराको सम्झनामा एउटा सामाजिक काम गर्छु भनेर सोचिएको हो । त्यसैले चिना हराएको मान्छे भन्दा मीरा केयर सेन्टर जेठो हो । नाम चाहिँ हामिले पछि राखेका हौं ।

चिना हराएको मान्छेको बिक्रिबाट प्राप्त हुने सबै रोयल्टी मीरा केयर सेन्टरमा जान्छ ?

दुई हजार एडिसन कपी छ त्यसको मुल्य दुई हजार रुपैयाँ राखेका छौँ हामीले । त्यसबाट चालिस लाख रुपैयाँ जति उठाउने हाम्रो लक्ष्य छ । त्यो शतप्रतिशत त्यसमै जान्छ, त्यसमा हामी कुनै दायाँबायाँ गर्दैनौं । पुस्तकबाट आउने रोयल्टीको पाँच लाख रुपैया मैले हस्तान्तरण पनि गरिसकेँ मीरा कयर सेन्टरको लागि । चिना हराएको मान्छेको जति रोयल्टी आउँछ त्यसका बारेमा अहिलेसम्म मैले के गनै भन्ने निर्णय गरिसकेको छैन, तर जहाँसम्म मलाई लाग्छ सबै त्यही सेन्टरमा जान्छ होला । मीरा केयर सेन्टरलाई सवैको साझा संस्था बनाउने लक्ष्य छ हाम्रो । त्यसमा अरुले पनि सहयोग गर्न सक्छन् र त्यसमा पूरै पारदर्शिता अपनाईनेछ । हरेक खर्चका बारेमा जानकारी दिईनेछ । त्यसलाई वेबसाईटमा राख्नेछौं ।

कस्तो काममा केन्द्रीत हुनेछ मीरा केयर सेन्टर ?

मीरालाई बच्चा असाध्यै मन पथ्र्यो, त्यसैले म पनि बच्चा जस्तो थिए । अहिले पनि बच्चा जस्तै छु, व्यवहार अझै बच्चा जस्तै छ । हामी नयाँ बजारमा घट्टेकुलोमा बस्दा पनि त्यो अनाथाश्रम सञ्चालन गर्ने मान्छेहरु आउँदा रहेछन् । उनीहरुलाई मीराले कसैलाई चामल, कसैलाई जुत्ता जस्ता कुरा दिईरहन्थिन् । तर त्यसमध्ये एकदुईजनाले चाहिं अनाथाश्रम चलाउने भनेर उठाएको रकम, सामानको सदुपयोग गर्दा रहेनछन् । त्यसैले मैले जथाभावी नदेऊ बुझेर मात्र देऊ, तिमी आफै गएर देउ, जसलाई दिने हो उसैलाई देउ भन्दा पनि उ लुकी लुकी दिने गर्दिरहिछन् । त्यो सबै बच्चाप्रतिको उनको लगावले भएको हो ।
हाम्रो जेठो छोरा त्रिलोक आचार्यले अमेरिकाबाट मीरालाई हजार डलर पठाएको थियो, जीवनको पहिलो कमाई भनेर । मीराले त्यसमध्ये १७ हजारको कपडा किनेर जय बाल भोजनका बाल बालिकाहरुलाई बाँडिन् । म पनि गएको थिएँ । त्यसैले उनको बच्चाप्रतिको लगाव धेरै थियो । हामी मीरा केयर सेन्टरमा बच्चा ल्याएर पाल्ने, पढाउने योजनामा त छैनौं तर गर्भावस्था देखि नै आमालाई र बाबुलाई बच्चालाई कसरी सहि तरिकाले जन्मदिनु पर्छ ? गर्भवती अवस्थामा के के कुरामा विचार गर्नु पर्छ ? जस्ता कुराको सन्देश दिने छौं । बच्चालाई दवाव दिने बानी छ हाम्रो त्यसलाई सुधार्न आवश्यक छ, बच्चालाई त माया गरेर हुर्काउनु पर्छ । त्यसो गर्न सकिएन भनें बच्चा आफ्नै खुट्टामा उभिन सक्ने हुन्न । कोहि बाहिरको मान्छे आयो भने लुक्न जाने, तिम्रो नाम के हो भन्दा टाउको निहुराएर बसिरहने हुन्छ । त्यस्ता बच्चालाई मनमा एकखालको त्रास हुन्छ । तर सुरु देखि नै आत्मविश्वासी बच्चाले भविष्यमा राम्रो गर्न सक्छ । उसको चेतनाको स्तर धेरै राम्रो हुन्छ । बच्चालाई पढाउने मात्रै होईन, खेलाउनु पनि पर्छ । यस्तो काम मीरा केयर सेन्टरले गर्छ । एउटै विद्यालयको राख्ने होईन, कहिले कुरा विद्यालयको कहिले कुन बिद्यालयको बच्चालाई यसरी राख्नेछौं । चाइल्ड रिच भन्ने एउटा संस्था छ  ईन्टरनेसनल अर्गनाइजेसन, नेपालमा छिरिङ भाईले स्थापना गर्नुभएको छ, त्यससँग सहकार्य गर्दैछौं । त्यसमा विदेशी स्वयंसेवीहरु आएर बच्चाहरुलाई बोल्न सिकाउने, बच्चाको आत्मबिश्वास बढाउन सहयोग गर्नेछन् ।

तपाई त झन्डै पण्डित हुनुभएको रहेछ नी हैन ?

कुनै पनि चिज लेखेको पाईन्छ देखेको पाईन्न भन्छ नी । म पण्डित भएको भए लुकिलुकि मःम खाने पण्डित हुन्थें होला । मलाई पण्डित हुने गुण प्रकृतिले दिएकै थिएन । मेरो बुबा आमाहरुको इच्छाको  कुरा हो त्यो पण्डित बन्ने कुरा मेरो इच्छाले होईन ।

आफैंले लेखेको पुस्तक चिना हराएको मान्छे पढ्नु भयो की पढ्नु भएन ?

दिनमा एउटा च्यापटरको हिसावले पढिरहेको छु । पुस्तक पढ्दा यो अरु नै कसैले लेखेको हो जस्तो लाग्छ । तर त्यसको घटना, हरेक हरफ आफुसँग मिलेको जस्तो लाग्छ । पुस्तक पढ्दा मैले कति संघर्ष गरेंछु भन्ने लाग्छ । म संघर्ष गर्नै जन्मेको मान्छे हुँ । दुःख पाउनै जन्मेको हुँ जस्तो लाग्छ । मान्छेले त्यत्रो दुःख सहजै थाम्न सक्दैन मैले असाध्यै दुःख पाएको छु । म आज जुन ठाउँमा पुगेको छु, त्यो संघर्ष सम्झिंदा पनि आनन्द लाग्छ ।

दुःख सँगै माया गर्ने साथीहरु पनि भेटिने रहेछन् नी हैन ?

हो, समयले नै त्यो कुरा दिंदो रहेछ । जस्तो त्यो बेलामा मलाई दुःख पर्दा साथ दिने साथीहरु थिए । पछि व्यवसायमा साथ दिने मदन दाई जस्तो साथी भेटाएँ, मीरा जस्तो श्रीमति भेटाएँ । अहिले उसैको यत्रो वियोग भोग्नु पर्यो । त्यसपछि फेरि मैले रमिला पाएँ । समयले नै सबै थोक जुटाउँदै जाँदो रहेछ  जस्तो लाग्छ ।

पुस्तकका हाँसउठ्दा कुरा चाहिं ?

खोपासीमा महेश झण्डारीको घरमा बास बस्दा कुकुर बाँधेको थियो तल्लो तलामा । मलाईचाहिँ पिसाबले च्यापेको छ । त्यसपछि मैले झ्यालबाट नै पिसाव गर्न थालें । यो कुरा महेशको आमालाई अहिलेसम्म थाहा छैन । उहाँ अहिले पनि हुनुहुछ । अब पुस्तकको हल्लाखल्ला त हुन्छ । अब कसरी त्यो घरमा जाने ? जाँदा म टाउको निहुर्याएर बसिरहन्छु होला ।
अर्को बैंककमा एकजना मनाङ्गेको भरिया भएर जाँदा भारी बोकेका घटनाहरु पनि रमाईलो लाग्छ, ओहो त्यस्तो पनि भएको थियो भनेर । पहिले विदेश जान त्यत्रो रहर गर्ने मान्छे अहिले विदेशबाट कार्यक्रम गर्न बोलाउँदा जान पाईरहेको छैन ।
मेरो पुस्तकले जस्तोसुकै परे पनि हरेश खानुहुन्न भन्ने सन्देश दिन्छ । मैले त्यत्रो दुःख पाएँ तर मैले प्रयास गर्न कहिल्यै छोडिन । लगावका साथ काम गरेमा अवश्य सफल भईन्छ ।

पुस्तक कुन बेला लेख्नुभयो ? बिहान, बेलुका वा दिउँसो ?

धेरैजसो दिउँसो नै लेखें । मीराले छोडेर गएपछि मलाई राती निद्रा नै लाग्दैनथ्यो । त्यसैले म बिहान चाँडै हिंड्थे । एकदिन राति चरा कराए । त्यसपछि उठेर लुगा फेरेर म घडी नै नहेरी हिंडे । म हनुमन्ते पुल नजिक पुग्दा क्याम्पस पढ्ने भाईबहिनीहरु भेटिन्थे । तर त्यो दिन कोहि हिंडेको थिएन । आज किन यस्तो भयो भनेर घडी हेरेको त रातीको १ बजेको रहेछ । अरु समयमा भए मलाई डर लाग्थ्यो होला, तर मलाई त्यो दिन कुनै डर लागेन किनभनें सवैभन्दा ठूलो डर ज्यानको न हो । म मेरो ज्यान गए हुन्थ्यो भन्ने सोच्थें । त्यसैले कुनै डर लागेन ।

पुस्तक लेख्ने कुरा कसलाई भन्नु भयो ? मदन दाई (मदनकृष्ण श्रेष्ठ) लाई भन्नु भयो की ?



भनिन । कसैलाई पनि भनिन् । सुरुमा मैले मीरासँगको वियोगका कविताहरु लेखे । त्यस्तै १८, १९ वटा कविता लेखें होला । त्यसपछि मैले उसका कुरा लेख्न थालें । मैले पुस्तक लेख्छु भनेर लेख्न थालेको पनि होईन । आफ्नो गन्थन कसलाई सुनाउँ, सुनाउँदा पनि दिक्क हुन्छ सुन्नेलाई भनेर आफ्ना कुरा कापीलाई सुनाउँछु भनेर लेख्न थालेको हुँ । कापीलाई आफ्नो गन्थन सुनाईसकेपछि मन अलिक हलुका भएजस्तो हुन्थ्यो । आफुले लेखेको कुरा पढ्दा आँखा रसाएर आँशु तप्प चुहिन्थ्यो । अक्षरमा पर्दा त्यो फुलेर डम्म हुन्थ्यो ।

लेख्दै जाँदा डा. रवीन्द्र समीरले मलाई तपाईले पुस्तक लेख्नुपर्छ भन्नुभयो । मैले आफुले लेखेको कुरा उहाँलाई दिएँ । उहाँले पढेर राम्रो छ बाल्यकालका कुरा पनि केहि लेख्न आग्रह गर्नुभयो । ६, ८ महिना जति पछि मन केहि हलुंगो भयो, त्यसपछि मैले सवै कुरा लेख्दै गएँ । लेख्दै जाँदा ६० हजार जति शब्द तयार भएछ । त्यसपछि रवीन्द्रजीले मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेलाई भेटाईदिनुभयो । उहाँले धेरै कुरा मिलाई दिनभयो । उहाँहरुको सल्लाह पछि अरु कुरा पनि लेखें । उहाँहरुले होमवर्क दिए जस्तो हुन्थ्यो । लेख्दै जाँदा ७५ हजार शव्द पुगेछन् । त्यसपछि बियोगका कुरा अरुलाई धेरै सुन्दा पट्यार लाग्छ भनेर उहाँहरुले सुझाव दिएपछि हामी त्यसलाई घटाउन थाल्यौं । कविता सवै राख्न मन थियो तर तिनलाई पनि सबै राख्न पाईएन । ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’ भन्ने कवितालाई झिकिदिएकोमा मलाई चित्त दुख्यो । तर उहाँहरुले झिक्नुको अर्को पनि कारण छ भन्नु भयो । पछि मैले अलि कति महसुस पनि गरे । मैले लेखेको बियोगको ७५ प्रतिशत झिक्यौं, २५ प्रतिशत मात्र राखियो पुस्तकमा ।
(उज्यालो अनलाइनबाट साभार)
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com