Headlines News :
Home » » पूर्व स्ववियु उपसभापति मृगौला तस्करीमा संलग्न

पूर्व स्ववियु उपसभापति मृगौला तस्करीमा संलग्न

१, जेठ, काभ्रे । मृगौलाको अवैध बेचबिखन कार्यमा सहयोग गरेको अभियोगमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई एक महिनाको अवधिमा प्रहरीले जिल्लास्तरमा गठन गरेको विशेष प्रहरी टोलीले काठमाडौँ, नुवाकोट र काभ्रेको विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार धुलिखेलमा सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट मदानपुर-१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका-२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहुँ मिलुंग-३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस-४ का सुमन श्रेष्ठ र काभ्रेको पाँचखाल-६ का राजन दर्जी रहेको काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये सचिन मर्हजन पाटन क्याम्पसका पूर्व स्ववियु उपभापति रहेको बुझिएको छ ।
यसअघि मृगौलाको अवैध तस्करीमा सहयोगीका रुपमा काम गरेका काभ्रेको पनौतीका मनोज रावत ३५ हजार धरौटीमा रिहा भएका छन् भने अर्का काभ्रे होक्सेका प्रेमबहादुर बजगार्इ अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
पीडितहरुले दिएको जाहेरी दरखास्तको आधारमा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सकेको उल्लेख गर्दै प्रहरी उपरीक्षक घर्तीले तर यो प्रकरणका मुख्य दोषी भने अझ फरार रहेको बताउनुभयो । “हामी ढिलोचाँडो उसलाई पक्राउ गर्न सफल हुनेछौँ”- उहाँले भन्नुभयो । काभ्रेको होक्सेमा एकै परिवारका तीनदेखि पाँचजनाले मिर्गौलाको बेचबिखन गरेका छन् ।
होक्सेमा अहिलेसम्म झन्डै एक सय ५० जनाको हाराहारीमा मिर्गौला बेचबिखन भएको प्रहरीले जनाएको छ । बेचबिखनबाट अहिलेसम्म पाँचजनाको मृत्युसमेत भएको जनाइएको छ । दलालहरुले मृगौला सात लाखदेखि १० लाखसम्म बेच्ने गरेको र पीडितलाई ५० हजारदेखि एक लाखसम्ममात्र दिने गरेको प्रहरी उपरीक्षक घर्तीले जानकारी दिनुभयो ।
उनीहरुलाई मानव बेचबिखन ऐन, ०६४ अनुसार मुद्दा चलाइने र दोषी ठहरिए १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com